सुदूरपश्चिम सरकारले मध्यरातमा ल्यायो ३७ अर्ब ७० करोडकाे बजेट

सुदूरपश्चिम सरकारले मध्यरातमा ल्यायो ३७ अर्ब ७० करोडकाे बजेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रम कार्यान्वयनका लागि ३७ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ ।

प्रदेशसभाको असार १ गते राति ११ः४५ बजे बसेको बैठकमा सरकारका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका हुन् ।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ७२ करोड, सरकारबाट राजस्व बाँडफाट भई प्राप्त हुने अनुमानित रकम १० अर्ब २४ करोड ९२ लाख, ६६ हजार अनुमान गरिएको छ ।

यस्तै, संघीय रोयल्टीबापत ७ करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९ खर्ब ६ करोड ३३ लाख, चालु आवको विनियोजनबाट बचत हुने ९ अर्ब ६२ करोड, सशर्त अनुदान ६ अर्ब तीन करोड ५८ लाख, संघीय समपूरक अनुदान ३८ करोड ३८ लाख र विषेश अनुदानबाट ५२ करोड ७६ लाख प्राप्त हुने अनुमान गरिएको आर्थिक मामिलामन्त्री धामीले जानकारी दिए ।

प्रस्तुत बजेटमा चालु र पुँजीगततर्फ के–कति बजेट विनियोजन गरिएको भन्नेबारे मन्त्री धामीले उल्लेख गर्नुभएन । प्रतिपक्षी दलका सदस्यहरुको बहिष्कारका बीच सरकारले बैठकमा आगामी आवको बजेट सार्वजनिक गरेको हो ।

बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका सदस्यहरु आ–आफ्नो स्थानमा उठेर विरोध गरेपछि सभामुख भीमबहादुर भण्डारीले दिनुभएको समयमा बोल्नुभएका प्रदेशसभा सदस्य मानबहादुर धामीले समयमै बजेट पेस गर्न नसकेर सरकारले लाचारीपन देखाएको बताए । त्यसपछि सबै प्रतिपक्षी सांसद बैठक बहिष्कार गर्दै बाहिरिएका थिए ।

बजेट बाँडफाँटमा सत्तापक्षका प्रदेशसभा सदस्यहरुबीच नै मतऐक्यता हुन नसकेपछि प्रदेशसभा बैठकमा आगामी आवको बजेट पेस गर्न ढिलाइ भएको हो । प्रदेश सरकारको चालु आवमा ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट विनियोजन गरिएको थियो ।