बेइजिङमा परराष्ट्रमन्त्री खनाल–वाङ द्विपक्षीय वार्ता : पूर्वाधारदेखि लगानीसम्म सहकार्य विस्तारमा सहमति

बेइजिङमा परराष्ट्रमन्त्री खनाल–वाङ द्विपक्षीय वार्ता : पूर्वाधारदेखि लगानीसम्म सहकार्य विस्तारमा सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चीनका परराष्ट्रमन्त्री वाङ यीबीच सोमबार बेइजिङमा उच्चस्तरीय द्विपक्षीय वार्ता भएको छ। वार्तामा नेपाल–चीन सम्बन्धका समग्र आयामबारे छलफल गर्दै दुवै देशले पूर्वाधार, व्यापार, लगानी, ऊर्जा, कृषि, प्रविधि र जनस्तरका सम्बन्ध विस्तारमा सहकार्य बढाउने सहमति गरेका छन्।

बेइजिङस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिअनुसार नेपालले ‘एक चीन नीति’प्रतिको आफ्नो दृढ प्रतिबद्धता दोहोर्‍याउँदै नेपालको भूमि चीनविरुद्ध कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट पारेको छ। त्यसको प्रत्युत्तरमा चीनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति आफ्नो अटल समर्थन पुनः व्यक्त गरेको छ।

वार्ताका क्रममा दुवै पक्षले पूर्वाधार विकास, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेसन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषणलगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका थिए।

दुवै देशले विगतमा सहमति भएका परियोजना तथा कार्यक्रमहरूको शीघ्र कार्यान्वयनमा प्रतिबद्धता जनाउँदै बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा समेत सहकार्यलाई सुदृढ बनाउने सहमति गरेका छन्।

भेटपछि चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले मन्त्री खनालको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए। यसअघि मन्त्री खनालले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका प्रमुख ल्यु हाइशिङसँग भेटवार्ता गरी नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल गरेका थिए।

त्यसैगरी उनले चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको तिब्बती पठार अनुसन्धान संस्थानको भ्रमण गर्दै विज्ञान तथा प्रविधिको क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।

मन्त्री खनाल चीनका विदेश मामिलामन्त्री वाङको सौहार्दपूर्ण निमन्त्रणामा आइतबार बिहान बेइजिङ पुगेका हुन्। उनी भ्रमण सम्पन्न गरी यही असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ।