ओखलढुंगा – भातृसंगठन नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिको १२ औं अधिवेशन उद्घाटन सत्रमा विवाद भएपछि माउ पार्टी काग्रेस नेताबीच कुटाकुट भएको छ । सोमबार साँझ उद्घाटन सत्रको मञ्चमै भएको कुटाकुटमा कांग्रेस नेता बालकृष्ण दाहालको चस्मा फुटेको छ । उनले कुटपिटका क्रममा आँखामा चोट लागेको बताएका छन् ।
सामुदायिक अस्पता स्रोब्रुमा आँखा परीक्षण गरेको पनि उनले बताए । त्यस्तै पूर्व सभापति गोमा केसी पनि कुटिएको पत्रकार सम्मेलन गरेर नेताहरुले बताएका छन् । केसीले पत्रकार सम्मेलनमा आफुमाथि जिल्ला सभापति प्रदीप सुनुवारले हातपात गरेको आरोप लगाएकी छिन् ।
अधिवेशन उद्घाटन सत्रमा असन्तुष्ट पक्षका नेताहरुले अधिवेशनमा सहभागी हुने प्रतिनिधिको नाम सार्वजनिक गर्नु पर्ने नेविसंघका केन्द्रीय उपाध्यक्ष नवीन राईलाई प्रमुख अतिथि बनाउनुपर्ने माग गरेपछि विवाद सुरु भएको थियो ।
कार्यक्रम सुरु हुँदा जिल्ला सभापति प्रदिप सुनुवारलाई प्रमुख अतिथि बनाएपछि विवाद बढेको नेविसंघका कार्यकर्ता सुजन दाहालले बताए । प्रतिनिधि एकपक्षीय बनाएर आफु अनुकूल नेतृत्व चयन गर्न खोजेको भन्दै दाहाल र केसीले मञ्चमै पुगेर कार्यक्रम रोक्न माग गर्दा झडपको अवस्था भएको हो ।
मञ्चमा जिल्ला सभापति प्रदीप सुनुवार, उपसभापति तेजेन्द्र खनाल र नेताहरु बालकृष्ण दाहाल, लिलाबल्लभ दाहाल काका र पूर्व सभापति गोमा केसीबीच हात हालाहाल भएको प्रत्यक्षदर्शी नेता विनोद केसीले बताए । उनले सभापति सुनुवार र उपसभापति खनालले आक्रमण गरेको पनि आरोप लगाए । झडपपछि असन्तुष्ट पक्षले कार्यक्रम बहिष्कार गरेका छन् । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।




प्रतिक्रिया