बीवाइडी गाडीः प्रधानमन्त्रीको निर्देशनमा समातियो, अर्थको निर्देशनमा छाडियो

बीवाइडी गाडीः प्रधानमन्त्रीको निर्देशनमा समातियो, अर्थको निर्देशनमा छाडियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कोरला नाका हुँदै चीनबाट भित्रिएका बीवाइडी कम्पनीका विद्युतीय गाडी सशस्त्र प्रहरीले छाडेको छ ।


सशस्त्र प्रहरीको ३३ नम्बर गुल्म जोमसोमले नियन्त्रणमा लिइएका ७ सय ७४ वटा गाडी सम्बन्धित गाडी धनीलाई जिम्मा लगाइएको बताएको छ ।

सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले माथिको आदेशमा भन्सार पासपछि सबै गाडी शनिबार र आइतबार गरी छाडिएको बताए ।

भन्सार छली गरी भित्रिएको आशंकामा प्रधानमन्त्री बालेन्द्र शाहको प्रत्यक्ष निर्देशनमा सशस्त्रले गत २१ जेठमा कोरला नाकाबाट ३ सय ९४, जोमसोमबाट २ सय ६६, कास्कीको हेमजाबाट ९८ र पर्वत सदरमुकाम कुश्माबाट १७ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको थियो ।


अर्थ मन्त्रालयसँगको समन्वयमा गाडीहरु सम्बन्धित धनीलाई जिम्मा लगाइएको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले जानकारी दिए ।

संघीय संसदमा विपक्षी दलका सांसदले करका दर हेरफेरसम्बन्धी सूचना चुहाएर सेटिङमा गाडी भित्र्याइएको आरोप लगाउँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा मागेका थिए ।

विपक्षीको विरोधपछि अर्थले उपसचिव भुपालराज शाक्यको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधिसमेत संलग्न शाक्य नेतृत्वको समितिले आरोप लगाइएजस्तो सूचना चुहाएर नभई नियमित प्रक्रियाबाटै गाडीहरु भित्रिएको देखिएको निस्कर्षसहितको प्रतिवेदन मन्त्रालयमा बुझाएको थियो ।