काठमाण्डु– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको थियो ।
तर, बैठकमा लम्साल अनुपस्थित भए । मन्त्री उपस्थित नभएको विषयमा काँग्रेस सांसद् बासना थापाले प्रश्न गरिन् । ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री नआएको टिप्पणी उनको थियो ।
‘ठेकेदारको खुट्टा भाँच्छु’ भन्ने अभिव्यक्ति दिएको विषयमा जवाफ दिनुपर्ला भनेर मन्त्रीजी नआउनुभएको हो ?’, थापाले सभापति आशिष गजुरेललाई प्रश्न गरिन् ।
अरु सांसदले पनि मन्त्री उपस्थित नभई बैठक बस्नुको औचित्य नरहेकामा सभापति गजुरेलको ध्यानाकर्षण गराए ।
अधिकांश सांसदले मन्त्री आउनैपर्ने अडान लिएपछि गजुरेलले आफूले धेरै पटक भने पनि मन्त्री नआएको बताए । ‘मैले उहाँलाई पटकपटक बोलाएको थिएँ’, उनले भने, ‘तर, किन हो आउनुभएन ।’
मन्त्री समिति बैठकमा उपस्थित हुनैपर्ने अन्य सांसदको रायमा सभापति गजुरेलले सहमति जनाए ।
‘मिनी पार्लियामेन्ट’ भनेर चिनिने संसदीय समितिमा उपस्थित हुनेबारे मन्त्रीहरु गम्भीर बन्नैपर्ने उनको भनाइ थियो ।
मन्त्री नआई बैठक अघि बढ्न नसक्ने अडानमा सांसदहरु कायम रहेपछि गजुरेलले बैठक स्थगन गरेका छन् ।
उनले अर्को बैठकमा मन्त्रीलाई उपस्थित गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
केही दिनअघि निर्माणाधीन पृथ्बी राजमार्गअन्तर्गत नौबिसे–मलेखु सडकखण्डको स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले सडक बीचमा परेका बिजुलीको पोल सार्ने जिम्मा पाएको ठेकेदारले समयमै काम नसकेको भन्दै ‘खुट्टा भाँच्ने’ धम्की दिएका थिए ।




प्रतिक्रिया