काठमाण्डु- अमेरिका र इरानबीच शान्ति सम्झौताका अन्तिम वार्ता सुरु हुन दुई दिन बाँकी छ । र्दुई दिन बाँकी हुँदा इरानी तेल ट्याङ्करहरू अमेरिकी नाकाबन्दी क्षेत्रबाट बाहिर निस्कन थालेका छन् । यसलाई दुई महिनापछि इरानको पहिलो कच्चा तेल निर्यातका रूपमा हेरिएको छ । मध्यपूर्वमा तनाव कम हुने अपेक्षा बढेसँगै विश्व तेल बजारमा पनि यसको प्रभाव परेको छ ।
हर्मुज जलघाँटी पुनः सञ्चालनमा आएको सङ्केत पाएसँगै अन्तर्राष्ट्रिय तेल मूल्य घटेको छ । यहीबीच शुक्रबार अमेरिका र इरानबीच अन्तिम सम्झौतासम्बन्धी वार्ता सुरु हुने तयारी भइरहेको छ । वार्तामा इरानको आणविक कार्यक्रम र अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने विषय मुख्य एजेन्डा रहने बताइएको छ ।
तेल ढुवानी अनुगमन गर्ने ‘ट्याङ्करट्र्याकर’ डिजिटल ट्र्याकिङ तथ्याङ्कका आधारमा दुई इरानी सुपरट्याङ्कर अमेरिकी नौसैनिक नाकाबन्दी क्षेत्रबाट बाहिरिएको जनाएको छ । ‘डिओना’ र ‘हिरो-२’ नामका ती ट्याङ्करमा संयुक्त रूपमा करिब ३८ लाख ब्यारेल इरानी कच्चा तेल रहेको बताइएको छ । पछि तेस्रो ट्याङ्कर पनि बाहिरिएको जानकारी सार्वजनिक गरिएको थियो ।
अधिकारीहरूका अनुसार प्रारम्भिक सहमतिपछि सुरु हुने ६० दिने वार्ताले इरानको आणविक प्रतिबन्ध हटाउने प्रक्रियाबारे अन्तिम निर्णय गर्नेछ ।
अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले युद्ध अन्त्यसम्बन्धी सहमतिअन्तर्गत अमेरिकाले इरानलाई तत्काल तेल तथा इन्धन बिक्री गर्न अनुमति दिने जनाएको छ । प्रतिबन्ध खुकुलो पार्ने व्यवस्थामा बैंकिङ, यातायात र बिमा सेवा पनि समेटिने बताइएको छ ।
यद्यपि अमेरिकाभित्रै सम्झौताप्रति मिश्रित प्रतिक्रिया देखिएको छ । केही रिपब्लिकन सांसदहरूले ट्रम्प प्रशासनसँग सम्झौताको पूर्ण पाठ र विस्तृत जानकारी माग गरेका छन् । सिनेटका बहुमत नेता जोन थुनले सम्झौताको वास्तविक स्वरूप बुझ्न आवश्यक रहेको बताए ।
तर शान्ति प्रक्रियामाथि क्षेत्रीय तनाव अझै कायमै छ । इजरायली सेनाले दक्षिण लेबनानमा आफ्ना कारबाही जारी रहेको जनाएको छ । रकेट प्रहार रोकिएको र प्रक्षेपण स्थलमाथि हवाई आक्रमण गरिएको दाबी गरेको छ ।
लेबनानको सरकारी समाचार संस्थाका अनुसार मेफादुन र सुकिन क्षेत्रमा भएका आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ । त्यसपछि इरानको केन्द्रीय सैन्य कमान्डले इजरायललाई ‘कठोर प्रतिक्रिया’ को चेतावनी दिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जेडी भान्स, इरानका उपविदेश मन्त्री माजिद तख्त–राभान्ची र शीर्ष वार्ताकार मोहम्मद बाघेर घालीबाफले सम्झौतामा विद्युतीय हस्ताक्षर गरिसकेको छ ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले शुक्रबारदेखि इरान र अमेरिकाबीच नयाँ चरणको वार्ता सुरु हुने जानकारी दिएको छ । अन्तिम सम्झौतामा आणविक मुद्दा र प्रतिबन्ध हटाउने विषयमा निर्णय हुने बताए ।
हर्मुज पुनः खुल्ने अपेक्षाले विश्व बजारमा तेलको मूल्य घटेको छ । अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ७८.७४ डलरमा झरेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियेट ७५.८५ डलर प्रतिब्यारेलमा कारोबार भएको छ ।
वार्ताले अन्तरिम सहमतिसम्म पुग्ने भए पनि इरानको युरेनियम संवर्धन कार्यक्रम र पश्चिमी प्रतिबन्धजस्ता जटिल विषय अझै समाधान हुन बाँकी छन् । अमेरिका र इजरायलले इरानलाई युरेनियम भण्डार त्याग्न दबाब दिइरहेका छन् । यता इरानले आफ्नो अधिकार कायम राख्ने अडान दोहोर्याएको छ ।
यसैबीच, ट्रम्पले सम्झौता छिटै सार्वजनिक गर्न सकिने सङ्केत दिएको छ । इरानको रूढिवादी पत्रिका भातान–ए इमरोजले उक्त सम्झौतालाई ‘ट्रम्पको आत्मसमर्पण दस्तावेज’ भनेर वर्णन गरेको छ ।
तर अराघचीले विगतका अनुभव स्मरण गराउँदै सतर्कता आवश्यक रहेको बताएको छ । उनका अनुसार इरानले विगतमा पटक पटक सम्झौता उल्लङ्घन र प्रतिबद्धता तोडिएको अनुभव भोगिसकेको छ ।
उपराष्ट्रपति भान्सले अमेरिकी करदाताको रकम इरानमा नजाने स्पष्ट पार्दै आणविक निरीक्षकहरूलाई इरान प्रवेशको अनुमति दिइने बताएको छ । यद्यपि इरानी सञ्चारमाध्यमले १२ अर्ब डलर बराबरको रोक्का सम्पत्ति फुकुवा हुन सक्ने दाबी गरेका छन् ।
विश्लेषकहरूले भने इजरायल र इरान समर्थित हिजबुल्लाहबीचको समानान्तर द्वन्द्व नै कूटनीतिक प्रयासका लागि सबैभन्दा ठूलो चुनौती बनेको बताएका छन् । मार्चमा हिजबुल्लाहले इजरायलमाथि रकेट आक्रमण गरेपछि लेबनान युद्धमा तानिएको थियो, जसले क्षेत्रीय तनावलाई अझ गहिरो बनाएको छ ।




प्रतिक्रिया