अमेरिकी उपराष्ट्रपति स्विट्जरल्यान्ड नजाने, अमेरिका–इरान शान्ति सम्झौतापछिको कूटनीतिक प्रक्रिया अनिश्चित

अमेरिकी उपराष्ट्रपति स्विट्जरल्यान्ड नजाने, अमेरिका–इरान शान्ति सम्झौतापछिको कूटनीतिक प्रक्रिया अनिश्चित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अमेरिकी उपराष्ट्रपति जेडी भान्सले शुक्रबारका लागि तय गरिएको स्विट्जरल्याण्ड भ्रमण स्थगित गरेका छन् ।

अमेरिका र इरानबीच हालै भएको सम्झौतापछि अगाडि बढाइने कूटनीतिक प्रक्रियाबारे अनिश्चितता बढिरहेका बेला उपराष्ट्रपति भान्सको स्विट्जरल्याण्ड भ्रमण स्थगित भएको हो ।

मध्यपूर्वमा युद्ध अन्त्य गर्ने उद्देश्यले भएको सम्झौतापछि दुवै पक्षबीच थप वार्ताको तयारी भइरहे पनि निर्धारित उच्चस्तरीय भेटवार्ता तत्काल नहुने संकेत देखिएको छ ।

ह्वाइट हाउसका प्रवक्ताले अमेरिका–इरान वार्ताको प्रक्रिया जटिल र अप्रत्याशित रहने गरेको उल्लेख गर्दै प्राविधिक तहका वार्ता सकेसम्म छिट्टै सुरु गर्ने तयारी भइरहेको बताए ।

यसैबीच, इरानमा तस्निम समाचार एजेन्सीले पनि इरानी प्रतिनिधिमण्डलको स्विट्जरल्याण्ड भ्रमणबारे कुनै औपचारिक पुष्टि नभएको जनाएको छ । यसले दुवै पक्षबीच सम्झौता कार्यान्वयनको प्रक्रिया अघि बढे पनि त्यसको स्वरूप र समयतालिका अझै स्पष्ट नभएको देखाएको छ ।

सम्झौतापछि अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा लगाइएको नौसैनिक नाकाबन्दी हटाएको जनाएको छ । अमेरिकी युद्धपोतहरू भने क्षेत्रमै रहने बताइएको छ । द्वन्द्वका क्रममा प्रभावित भएको हर्मुज जलघाँटीमा पनि बिस्तारै गतिविधि पुनः सुरु हुन थालेको देखिएको छ ।

इरानी राज्य सञ्चारमाध्यमका अनुसार सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को निर्देशनअनुसार अब हर्मुज जलघाँटी प्रयोग गर्न चाहने जहाजहरूले त्यसका लागि तोकिएको सरकारी निकायमा अनुमति आवेदन दिनुपर्नेछ । सम्झौताअनुसार ६० दिनको अवधिभर त्यस्ता आवेदनबाट कुनै शुल्क नलिइने पनि जनाइएको छ ।