सफाइकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’लाई सम्मान

सफाइकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’लाई सम्मान


काठमाण्डु – काठमाण्डुको बुढानीलकण्ठ क्षेत्रमा कार्यरत सफाइकर्मीको योगदानको कदर गर्दै ३० जना सफाइका ‘अदृश्य नायक’ लाई सम्मान गरिएको छ ।

रोटर्याक्ट क्लब अफ बुढानीलकण्ठ र समाजसेवी एवं पर्यटनविद् श्याम मोहन श्रेष्ठको सहकार्यमा शनिबार आयोजित कार्यक्रममा बुढानिकण्ठ क्षेत्रमा कार्यरत ३० सफाइकर्मीलाई सम्मान गरिएको हो । विश्व वातावरण दिवस–२०२६ को अवसर पारेर ‘सफाइकर्मीलाई सम्मान, सबैको मान’ भन्ने नाराका साथै कार्यक्रम आयोजना गरिएको थियो ।

सो अवसरमा पूर्वराजदूत बलबहादुर कुँवरले सामाजिक उपेक्षा र अदृश्यताको सामना गरिरहेका सफाइकर्मीलाई राज्यले सम्मान गर्नुपर्ने बताए । समाज, वातावरण र जनस्वास्थ्यलाई दैनिक रूपमा स्वच्छ र सुरक्षित राख्न सफाइकर्मीको योगदान महत्त्वपूर्ण रहेको उनले बताए ।

बुढानिलकण्ठ नगरपालिका–३ का वडाध्यक्ष आकाश धितालले स्थानीय संघसंस्थासँग मिलेर बुढानिलकण्ठ नगरपालिकाले फोहर व्यवस्थापन गरिरहेको उल्लेख गरे । उनले बुढानिलकण्ठलाई सुन्दरता बनाउनका लागि इसिआई नेपालले खेलेको भूमिका सराहनीय रहेको उल्लेख गरे ।

वातावरणविद् डा. जयकुमार गुरुङले स्वच्छ वातावरण निर्माणमा सफाइकर्मीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । घर–टोलबाट उत्पादित फोहरमैला केही दिन मात्र सङ्कलन नहुँदा जनजीवन अस्तव्यस्त बन्ने र त्यही फोहर व्यवस्थापन गर्ने श्रमिकलाई भने समाजले अझै तल्लो दृष्टिले हेर्ने गरेको पाइन्छ ।

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक कृष्ण अधिकारी, इसिआई नेपालका अध्यक्ष सवीन वाग्ले, रोटर्याक्ट क्लब अफ बुढानीलकण्ठकी अध्यक्ष सुजना गुरुङ लगायतले पर्याप्त सुरक्षा सामग्री र तालिमको अभावमा जोखिमपूर्ण ढङ्गले काम गर्नुपर्ने बाध्यताबिच सफाइकर्मीले समाजलाई स्वस्थ राखिरहेको भन्दै उनीहरूको कामको उच्च प्रशंसा गरे ।