रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा

रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा

नयाँ नेतृत्व चयन, विधान संशोधन, संगठनात्मक पुनर्संरचना र भावी राजनीतिक कार्यदिशा तय गर्ने


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थापनापछि पहिलोपटक महाधिवेशन गर्दैछ । पार्टीको प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदै छ ।

चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै विधान संशोधन, संगठनात्मक पुनर्संरचना र भावी राजनीतिक कार्यदिशा तय गर्नेछ ।

पार्टीको भावी नेतृत्व, संगठनात्मक संरचना र राजनीतिक दिशाबारे निर्णायक मानिने महाधिवेशनमा हजारौँ प्रतिनिधि र नेताका उपस्थिति हुँदै छन् । महाधिवेशनका लागि सभापति रवि लामिछाने शनिबार नै चितवन पुगिसकेका छन् भने प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह आइतबार दिउँसो साढे १२ बजे भरतपुर पुग्ने कार्यतालिका छ । शाह महाधिवेशन अवधिसम्म बस्ने तय भएको छ ।

भरतपुरस्थित गेस्टहाउस चौरमा दिउँसो २ बजे सभापति लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।

उद्घाटन सत्रमा सांगीतिक प्रस्तुति, प्रतिनिधि तथा शुभेच्छुकहरूको स्वागतसहित कार्यक्रम सुरु हुनेछ । उद्घाटन सत्रमा पार्टीको राजनीतिक यात्रालाई समेटिएको विशेष भिडियो प्रदर्शन गरिनेछ भने थारू समुदायको सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिनेछ ।

उद्घाटन समारोहमा संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष सिके राउतलाई आमन्त्रण गरिएको छ ।

नेपाली कांग्रेसबाट पुष्पा भुसाल, एमालेबाट प्रदीप ज्ञवाली, नेकपाबाट वर्षमान पुन र राप्रपाबाट राजेन्द्र लिङ्देन उपस्थित हुनेछन् । श्रम संस्कृृति र जसपा नेपालबाट अतिथिका रूपमा सहभागी हुने नेता टुंगिएको छैन ।

महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार महाधिवेशनका सम्पूर्ण तयारी पूरा भइसकेका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा शनिबार साँझ बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको कार्यतालिका पारित गरेको छ ।

बैठकले प्रस्तावित विधान संशोधन अनुमोदन गर्दै महाधिवेशन हलमा पेस गर्ने निर्णय गरेको छ । नयाँ संरचनाअनुसार १९ पदाधिकारी, १५८ केन्द्रीय सदस्य र ३५ सदस्यीय सचिवालय गठन गर्ने प्रस्ताव गरिएको छ । बुर्लाकोटीका अनुसार महाधिवेशन प्रतिनिधिको संख्या चार हजार नाघेको छ भने प्रतिनिधिहरूको ट्याग वितरण अन्तिम चरणमा पुगेको छ ।

यसैगरी, केन्द्रीय समितिले प्रस्तावित विधान अनुमोदन गर्दै महाधिवेशन हलमा पठाउने निर्णय गरेको छ । १९ पदाधिकारी, १५८ केन्द्रीय सदस्य, ३५ सदस्यीय सचिवालय बनाउने निर्णय गरिएको छ ।

केन्द्रीय समितिमा संगठनात्मक प्रतिवेदन र सभापतिको राजनीतिक प्रतिवेदनमा समेटिने विषयमाथि विस्तृत छलफल भएको छ । त्यसैगरी, १८ वटा उपसमितिले आफ्नो कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् ।

महाधिवेशन व्यवस्थापनका सबै तयारी पूरा भएको जनाउँदै बुर्लाकोटीले सभास्थल, मञ्च, आवास, यातायात तथा खानपान व्यवस्थापन मिलाइएको बताए । उनका अनुसार प्रतिनिधि तथा अतिथिहरूको पहिचान र सुरक्षाका लागि आवश्यक सबै प्रबन्ध गरिएको छ ।

यस्तै हल र मञ्चको व्यवस्थापन, आवतजावत, वास र खानपानको पनि व्यवस्थापन भएको बताए । उनका अनुसार प्रतिनिधि तथा अतिथि पहिचान र सुरक्षा व्यवस्थापन गरिएको छ ।