म्युनिसिपल कन्फरेन्समा भाग लिन इजरायल पुगिन् कार्यवाहक प्रमुख डंगोल

म्युनिसिपल कन्फरेन्समा भाग लिन इजरायल पुगिन् कार्यवाहक प्रमुख डंगोल


काठमाण्डु महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल इजरायलको तेल अभीभमा आयोजना हुने म्युनिसिपल कन्फरेन्सको दशौं संस्करणमा भाग लिन  इजरायल प्रस्थान गरेकी छन्। 

इजरायल सरकार विदेश मन्त्रालयको निमन्त्रणामा उनीहरू शनिबार गएका हुन्। 

‘सफल साझेदारी (विनिङ पार्टनरसिप)’ शीर्षकमा हुने सम्मेलनमा भाग लिन विश्वका १५० भन्दा धेरै सहरका प्रमुख, नगरपालिकाका नेताहरू, सरकारी अधिकारी, सहरी योजनाकार तथा विज्ञहरुको सहभागिता हुनेछ। 

असार ९, १० र ११ गते तीन दिन चल्ने कार्यक्रममा नेपालबाट काठमाडौंसहित पोखरा महानगरपालिका र जनकपुर नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरू सहभागिताका लागि भएका हुन्। उनीहरू सम्मेलनसँगै आयोजना हुने प्रदर्शनी (एक्पो)मा वृहत् व्यावसायिक भ्रमणमा सहभागी हुनेछन्। 

सहरी व्यवस्थापनका उन्नत तथा नविन प्रविधिहरू, नविन नगरपालिकाका अभ्यासहरू र स्थानीय शासनका असल तथा सफल मोडलका विषयमा आपसी ज्ञान, सिप र अनुभव आदान प्रदान गर्नु सम्मेलनको मुख्य उद्देश्य हो। यसका लागि विषयगत सम्मेलन र व्यावसायिक सञ्जाल निर्माण सत्रहरु सञ्चालन हुने जनाइएको छ। 

यो कार्यक्रम इजरायलको स्थानीय सरकार महासंघको प्रमुख वार्षिक कार्यक्रम हो। स्थानीय शासनका नेताहरू, सहरी विकास तथा व्यवस्थापनका योजनाकारहरू, नवप्रवर्तनमा काम गर्ने विज्ञहरूका बिचमा हुने छलफलबाट सहरी समस्या समाधानका लागि अत्याधुनिक प्रविधि र उपाय खोजिनेछ। यसका लागि फरक परिवेशका सहरी नेतृत्वमा रहनुभएका मेयरहरू र नगरपालिकाका प्रतिनिधिहरूसँग विचार आदानप्रदान, दिगो सहरी विकास, स्मार्ट सहरहरू, सार्वजनिक सेवा, नविन परियोजनाहरू अन्वेषणका लागि योजना हुन्।