पहिलोपटक एकै मञ्चमा देखिँदै बालेन, रवि र गगन

पहिलोपटक एकै मञ्चमा देखिँदै बालेन, रवि र गगन


काठमाण्डु– नेपाली राजनीतिक वृत्तमा युवापुस्तामाझ लोकप्रिय मानिएका तीन नेता प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा पहिलोपटक एकै मञ्चमा देखिने भएका छन्।

चितवनमा भइरहेको रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा उनीहरू सँगै उपस्थित हुने भएका हुन्। महाधिवेशन दिउँसो एक बजेदेखि सुरू हुँदैछ। 

उद्घाटन समारोहमा सभापति लामिछाने र प्रधानमन्त्री समेत रहेका पार्टीका वरिष्ठ नेता साहले विशेष सम्बोधन गर्ने कार्यक्रम छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष राजेन्द्र लिङ्देन महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री साहसँगै एउटै फ्लाइटमा चितवन पुगिसकेका छन्। 

पछिल्ला केही वर्षयता परम्परागत राजनीतिक शक्तिप्रति बढ्दो असन्तुष्टि र नयाँ नेतृत्वप्रतिको आकर्षणका कारण बालेन, रवि र गगन युवापुस्तामाझ चर्चित अनुहारका रूपमा स्थापित भएका छन्। 

रास्वपाले आफ्नो पहिलो महाधिवेशनलाई संगठन विस्तार, वैचारिक दिशा तय गर्ने र आगामी निर्वाचनको रणनीति निर्माण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ। पार्टीका विभिन्न तहबाट आएका प्रतिनिधिहरूको सहभागितामा नेतृत्व चयन, विधान संशोधन तथा भावी कार्यदिशाबारे छलफल हुने कार्यक्रम छ।

तीनै नेताको एउटै मञ्चमा उपस्थितिले राजनीतिक वृत्तमा विशेष चासो सिर्जना गरेको छ। विशेषगरी वैकल्पिक राजनीति, सुशासन, युवा सहभागिता र राज्य व्यवस्थापनका विषयमा उनीहरूको धारणा सुन्न महाधिवेशन सहभागी तथा सर्वसाधारण उत्सुक देखिएका छन्।

रास्वपाको महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेताहरू, नागरिक समाजका प्रतिनिधि, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई समेत आमन्त्रण गरिएको छ। उद्घाटन सत्रमा हुने सम्बोधनलाई महाधिवेशनकै प्रमुख आकर्षणका रूपमा हेरिएको छ।