रास्वपा पार्टी सभापतिको उम्मेदवारका लागि ५१ हजार शुल्क लाग्ने, यस्तो छ निर्वाचन तालिका

रास्वपा पार्टी सभापतिको उम्मेदवारका लागि ५१ हजार शुल्क लाग्ने, यस्तो छ निर्वाचन तालिका


काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन सुरू भएको छ। चितवन भरतपुरस्थित गेस्ट हाउस चौरमा उद्घाटन समारोह सुरू भएको हो ।

उद्घाटन सत्रमा कांग्रेस सभापति गगन थापा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, एमालेबाट नेता प्रदिप ज्ञवाली, नेकपाबाट वर्षमान पुन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका चन्द्रकान्त राउतलगायतका नेता पुगेका छन्।

केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबार राति नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ।

तालिकाअनुसार आज राति ११ बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिने छ। सोमबार दिउँसो १ बजेदेखि उम्मेदवार मनोनयनका लागि फारम वितरण गरिने आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।

सोमबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिने छ भने साँझ ६ बजे उम्मेदवारहरूको नामावली प्रकाशन गरिने छ। यस्तै, सोमबार बेलुका ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारविरुद्ध दाबी–विरोध, ७ बजेदेखि ९ बजेसम्म दाबी–विरोध परेका उम्मेदवारबारे जाँचबुझ गरिने छ।

बेलुकी ९ः१५ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय तोकिएको छ। उम्मेदवारको अन्तिम नामावली राति ११ बजे प्रकाशन गरिने छ।

यही असार ९ गते मङ्लबार बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान सुरु गरिनेछ।

जसमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि मतदान गरिने उनले जानकारी दिए। मतदानपछि पहिलो चरणको मतगणना र मतपरिणाम घोषणा दुई घण्टापछि गरिने छ। त्यसपछि दोस्रो चरणको मतदान प्रक्रिया अघि बढाइने छ।

आयोगले पार्टी सभापतिको उम्मेदवारका लागि ५१ हजार शुल्क र एक जना प्रस्तावक एवं ५१ जनाको समर्थन आवश्यक पर्ने केसीले जानकारी दिए।

यस्तै, पार्टी पदाधिकारीका लागि ४१ हजार शुल्क र एक जना प्रस्तावक तथा २१ जनाको समर्थन, र केन्द्रीय सदस्यका लागि २१ हजार शुल्क र एक जना प्रस्तावक एवं २१ जनाको समर्थन आवश्यक पर्ने आयोगले जनाएको छ ।

रास्वपा महाधिवेशनमा ४ हजार २११ जना प्रतिनिधि छन्।