काठमाण्डु– मध्यपूर्व युद्धसँग सम्बन्धित विषयमा अमेरिका र इरानबीच नयाँ चरणको वार्ता आज स्विट्जरल्याण्डको जेनेभामा सुरु हुने भएको छ ।
वार्तामा सहभागी हुन इरानी प्रतिनिधिमण्डल शनिबार राति जेनेभा पुगेको छ भने अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि वार्ताका लागि युरोप प्रस्थान गरेका छन् । यसैबीच, इरानले लेबनानमा इजरायली आक्रमण जारी रहेको भन्दै ‘स्ट्रेट अफ हर्मुज’ पुनः बन्द गर्ने घोषणा गरेको छ ।
युरोप प्रस्थानअघि सञ्चारकर्मीसँग कुरा गर्दै उपराष्ट्रपति भान्सले इरानको आणविक कार्यक्रम तथा लेबनान युद्धबिरामसम्बन्धी विषयमा प्रगति हुने अपेक्षा व्यक्त गरेका छन् ।
गत शुक्रबार हुने तय भएको अनुवर्ती वार्ता इजरायलले लेबनानमा घातक आक्रमण गरेपछि अन्तिम समयमा स्थगित गरिएको थियो । इजरायली सैनिकका चार सदस्यको मृत्यु भएपछि ती आक्रमण गरिएको जनाइएको छ ।
अमेरिकाले शुक्रबार लेबनानमा युद्धबिराम पुनः लागू भएको घोषणा गरे पनि शनिबार इजरायली सेना र हिज्बुल्लाहबीच पुनः झडप भएको थियो । दुवै पक्षले एकअर्कामाथि युद्धबिराम उल्लङ्घन गरेको आरोप लगाएका छन् ।
इरानको केन्द्रीय सैन्य कमाण्डले अमेरिकाले प्रारम्भिक सम्झौताको पालना नगरेको तथा दक्षिणी लेबनानमा इजरायलले निरन्तर युद्धबिराम उल्लङ्घन गरेको आरोप लगाउँदै ‘स्टे«ट अफ हर्मुज’मा जहाज आवागमनका लागि पुनःबन्द गरिने घोषणा गरेको छ ।
विश्व तेल तथा ग्यास आपूर्तिको प्रमुख मार्ग मानिने ‘स्टे«ट अफ हर्मुज’ युद्धको अधिकांश अवधिमा इरानले अवरुद्ध गरेको थियो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेशकियानबीच भएको प्रारम्भिक सहमतिअनुसार ‘स्टे«ट अफ हर्मुज’ खुला गरिएको थियो ।
इरानको घोषणापछि अमेरिकी केन्द्रीय कमाण्डले अन्तरराष्ट्रिय जलमार्गमा सुरक्षित आवागमन कायम रहेको र अमेरिकी सेना सतर्क अवस्थामा रहेको जनाएको छ ।
यसैबीच राष्ट्रपति ट्रम्पले वार्ताबाट अन्तिम सहमति ननिस्किए अमेरिकाले हर्मुजमार्फत हुने आवागमनमा आफ्नै शुल्क प्रणाली लागू गर्न सक्ने चेतावनी दिएका छन् ।




प्रतिक्रिया