चितवन– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् ।
रास्वपा प्रथम महाधिवेशनको उदघाटन सत्रलाई आइतबार भरतपुरमा सम्बोधन गर्दै उनले ‘रवि ठूलो कि बालेन ठूलो’ भनेर उक्साउने खतरा आफूले देखेको बताए ।
उनले मञ्चमा रवि र बालेनले खासखुस कुरा गरिरहेको देखेको भन्दै नियमित भेटघाट र कुराकानी गर्न सुझाए ।
‘को भन्दा को ठूलो ? रवि ठूलो कि बालेन ठूलो ? भन्ने खरतामा म देख्छु । मैले तपाईंहरुलाई खासखुस कुरा गरिरहनुभएको देखेको छु । तपाईंहरु भेट्नुस्, कुरा गरिराख्नुस’, भट्टराईले भने, ‘५ वर्षसम्म यो एकता कायम गर्नुस् ।’
भट्टराईले रास्वपालाई अब ‘चुपचाप, घण्टीमा छाप भन्ने नारा छाडेर ‘चुपचाप सुशासन र विकास’ को मार्गमा अघि बढ्न आग्रह गरे ।
विश्वासका १ सय ७० देशमा रहेका ५० लाख नेपालीले नेपालमा भएका आफन्तलाई चुपचाप, घण्टी छापको म्यासेज पठाएको स्मरण गराए ।
‘अब चुपचाप घण्टीमा छाप होइन, चुपचाप सुशासन र विकासमा जानुपर्छ । ५० लाख युवा विदेशमा छन् । चुपचाप घण्टीमा छाप भनेर म्यासेज पठाउनेहरु १ सय ७० देशमा छरिएर रहेकाहरु छन्’, भट्टराईले भने ।
भट्टराईले महाधिवेशनले सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा बालेन्द्र शाह करिब पक्का भएको समाचार सुनेको भन्दै स्वर्णिम वाग्ले, शिशिर खनालजस्ता नेताहरुलाई अर्को कार्यकालका लागि शुभकामना दिए ।




प्रतिक्रिया