विश्वकप फुटबल : साउदीलाई हराउँदै स्पेन समूहको शीर्ष स्थानमा, उरुग्वे र केप भर्डे तथा बेल्जियम र इरानको खेल बराबरीमा रोकियो

विश्वकप फुटबल : साउदीलाई हराउँदै स्पेन समूहको शीर्ष स्थानमा, उरुग्वे र केप भर्डे तथा बेल्जियम र इरानको खेल बराबरीमा रोकियो


काठमाण्डु- फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६मा अन्तर्गत समुह एचको खेलमा स्पेनले साउदी अरेबियामथि जित निकालेको छ ।

यस्तै दुई पटकको विश्व विजेता उरुग्वेले नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ भने बेल्जियम र इरान पनि बराबरी खेलेका छन्।

एटलान्टा स्टेडियममा सम्पन्न खेलमा स्पेनले साउदी अरेबियामाथि ४–० गोलअन्तरको जित निकालेको हो । स्पेनले खेलको पहिलो हाफमा तीन गोल गरयो भने खेलको दोस्रो हाफमा एक गोल उपहार पायो । खेलको १०औं मिनेटमा स्पेनका लामिन यामालले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको २१ औँ मिनेटमा मिकेल ओयार्जाबलले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । त्यसको तीन मिनेटमा उनै मिकेलले गोल गर्दै स्पेनको अग्रता तेब्बर बनाए ।

खेलको ४९ औ मिनेटमा साउदीका खेलाडी हसन अल्ताम्बक्तिले स्पेनका लागि आत्मघाती गोल गरे । त्यसपछि खेलमा दुवै टोलीबाट गोल हुन सकेन र अन्तत स्पेनले साउदी अरेबियामाथि ४–० गोलको जित निकाल्यो । जितसँगै स्पेन दुई खेलबाट ४ अङ्क जोड्दै समूह एचको शीर्ष स्थानमा उक्लिएको छ । स्पेनले विश्वकपको नकआउट चरणमा पुग्ने सम्भवना मजबुत बनाएको छ । यसै समुहमा रहेका उरुग्वे, साउदी अरेबिया र केप भर्डेको समान एक एक अङ्क रहेको छ ।

उरुग्वे र केप भर्डेसँग बराबरीमा रोकियो

यस्तै दुई पटकको विश्व विजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ। अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा उरुग्वे केप भर्डेसँग २–२ को बराबरीमा रोकिएको हो। केप भर्डेले यसअघि स्पेनसँग पनि बराबरी खेलेको थियो।

समूह एचको यो खेलमा उरुग्वेविरुद्ध केप भर्डेले सुरुवाती अग्रता लिएको थियो। खेलको २१औं मिनेटमा केभिन पिनाले गोल गर्दै केप भर्डेलाई अग्रता दिलाएका थिए। त्यसपछि ४४औं मिनेटमा म्याक्सी अराजोले उरुग्वेका लागि बराबरी गोल फर्काए।

पहिलो हाफको इन्जुरी समयमा अगस्टिनले गोल गर्दै उरुग्वेलाई अग्रतामा दिलाएका थिए। ६१औं मिनेटमा केप भर्डेका हेलियो भारेला गोल गर्दै बराबरी गोल फर्काए। त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन।

बेल्जियम र इरान पनि बराबरीमा

यसैगरी बेल्जियम र इरान दोस्रो खेलमा पनि बराबरी खेलेका छन्।

लस एन्जलस स्टेडियममा सम्पन्न खेलमा बेल्जियम इरानसँग गोलरहित बराबरीमा रोकिएको हो। खेलको ६६औं मिनेटमा नेथन एङ्गोएले रातो कार्ड खाँदै बाहिरिएपछि बेल्जियम १० खेलाडीमा सीमित भएको थियो। १० खेलाडीमा सीमित बेल्जियमविरुद्ध पनि इरानले गोल गर्न सकेन।

पहिलो खेलमा बराबरीमा रोकिएका दुवै टोली दोस्रो खेलमा पनि बराबरीमै रोकिएका छन्। पहिलो खेलमा बेल्जियम इजिप्टसँग र इरान न्यूजिल्यान्डसँग बराबरी खेल्दै अंक बाँडेका थिए।

दोस्रो खेलमा पनि बेल्जियम र इरानले एक-एक अंक बाँडेका हुन्। समूह जीमा २ खेलबाट बेल्जियम र इरानले समान २ अंक जोडेका छन्। एक–एक खेल खेलका न्यूजिल्यान्ड र इजिप्टको पनि समान एक अंक छ।