काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत सोमबार दोस्रो दिन बन्द सत्र हुँदैछन्।
उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुने बन्दसत्रमा विभिन्न महत्त्वपूर्ण प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र निर्वाचन प्रक्रिया सुरु गर्ने कार्यतालिका छ।
पार्टी सभापतिले दोस्रो सत्रको प्रारम्भ गर्ने कार्यक्रम छ। त्यसलगत्तै अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुनेछ। यसैगरी कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने छिन् भने आर्थिक प्रतिवेदनमाथिको छलफल सकिएपछि पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्।
उक्त प्रतिवेदनमाथि छलफल पछि सहमहामन्त्रीको अगुवाइमा पार्टीको विधानमाथि छलफल तथा पास गर्ने कार्यतालिका छ। विधान पारित भएपछि बिहान पार्टी सभापतिद्वारा राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ।
राजनीतिक प्रतिवेदन पास भएलगत्तै अन्तरिम व्यवस्थापन समिति गठन गरिनेछ। सोही समयमा पार्टी सभापतिले आयोजक समितिका तर्फबाट सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्नेछन्।
त्यसपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र तालिका प्रकाशन गर्नेछ। निर्वाचन आयोगका अनुसार दिउँसो १ बजेदेखि पहिलो चरणको निर्वाचन (पार्टी सभापति र केन्द्रीय सदस्य) उम्मेदवारी मनोनयनका लागि निर्वाचन आयोगको सम्पर्क कार्यालयबाट फाराम वितरण सुरू गरिने छ ।
दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयन पत्र दर्ता गरिने छ । बेलुकी ८ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिने छ । उम्मेदवारहरूविरूद्ध दाबी विरोध गर्ने समय प्रथम नामावली प्रकाशनपछि १ घण्टा दिइएको छ । साँझ ७ बजेदेखि ९ बजेसम्म ती दाबी परेका उम्मेदवारहरूबारे जाँचबुझ गरिने छ ।
राति ११ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने छ । मंगलबार बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदानको समय तोकिएको छ । त्यसपछि दोस्रो चरणको (पार्टी पदाधिकारीका लागि) निर्वाचन प्रक्रिया सुरु गर्ने कार्यतालिका छ ।





प्रतिक्रिया