काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का तीन पूर्वअध्यक्षहरूले पार्टी एकतामा जोड दिएका छन् ।
राप्रपाको आउँदो महाधिवेशनले विश्वास जगाउने स्पष्ट वैचारिक मार्गदर्शन, सुदृढ संगठनात्मक दृष्टि र व्यवहारिक कार्ययोजना पेस गर्ने विश्वाससहित पार्टी छोडेकालाई फर्किन उनीहरूले आग्रह गरेका छन् ।
पूर्वअध्यक्ष पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त विज्ञप्ति जारी गर्दै महाधिवेशन गर्ने निर्णय स्वागतयोग्य रहेको उल्लेख गरेका छन् । पूर्व तीन अध्यक्षले राप्रपाको केन्द्रीय समितिको बैठक बहिष्कार गरेका थिए ।
पार्टी नछाड्ने सन्देश दिँदै विज्ञप्तिमा भनिएको छ, ‘राप्रपा तथा यसको विचार, आदर्श र लक्ष्यप्रतिको हाम्रो प्रतिबद्धता सधैँ अटल र अविचल छ ।’
महामन्त्री धवलशमशेर राणाले पार्टी छोडेपछि उनीहरू अध्यक्ष राजेन्द्र लिङ्देनसँग थप आक्रोशित भएका थिए । त्यही कारण उनीहरूले केन्द्रीय समितिको बैठक बहिष्कार गरेका थिए । तर, बैठकले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेपछि उनीहरूले संयुक्त विज्ञप्ति निकालेर महाधिवेशनमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरेका छन् ।
असार ५ र ६ गते काठमाण्डुमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा आफूहरुको अनुपस्थिति पार्टीप्रतिको असन्तुष्टि नभई सांकेतिक विरोध भएको उनीहरुले बताएका छन् ।
उनीहरूले अध्यक्ष लिङ्देनले पार्टी गलत ढंगले चलाएको आरोप लगाएका छन् । पूर्वाग्रह, प्रतिशोध वा व्यक्तिगत आग्रहका आधारमा कसैलाई कारबाही गर्न नहुने उनीहरूको तर्क छ ।
विज्ञप्तिमा भनिएको छ, ‘महाधिवेशन समयमै नहुने वा निष्पक्ष रूपमा सम्पन्न नहुने आशङ्काका कारण केही साथीहरूले पार्टी परित्याग गरिसकेका छन् भने अन्य कतिपयमा पनि निराशा बढिरहेको छ । यस्तो परिस्थितिको समाधानका लागि पार्टी अध्यक्षको संयोजकत्वमा पूर्वअध्यक्षहरूसमेत रहनेगरी एक उच्चस्तरीय ‘स्टेरिङ कमिटी (मार्गदर्शन समिति) गठन गर्नु उपयुक्त हुनेछ भन्ने हाम्रो सुझाव हो । दुर्भाग्यवश, यस्ता रचनात्मक सुझावहरूलाई आत्मसात् गर्नुको सट्टा पार्टी निर्माण र सुदृढीकरणका लागि जीवनको महत्त्वपूर्ण समय, रगत र पसिना समर्पित गरेका पूर्वअध्यक्षहरूमाथि नै लक्षित गरी जिम्मेवार व्यक्तिहरूबाट लाञ्छना र आरोप लगाउने प्रवृत्ति देखिनु अत्यन्त दुःखद र अस्वीकार्य छ ।’
विज्ञप्तिमा पार्टी कमजोर बन्दै गएको र कार्यकर्तामा निराशा बढिरहेको अवस्थामा आफूहरू मूकदर्शक बनेर बस्न नसक्ने उल्लेख गर्दै उनीहरुले कुनै व्यक्तिगत स्वार्थ, पदलोलुपता वा गुटगत राजनीति नगर्ने दाबी गरेका छन् ।
‘पार्टी कमजोर बन्दै गएको र कार्यकर्तामा निराशा बढिरहेको वर्तमान अवस्थामा हामी मूकदर्शक बनेर बस्न वा पलायन हुन सक्दैनौँ’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो कुनै व्यक्तिगत स्वार्थ, पदलोलुपता वा पूर्वाग्रह छैनस हामी कुनै गुट वा समूहको राजनीतिमा पनि संलग्न छैनौँ ।’






प्रतिक्रिया