काठमाण्डु – एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी पुगर्नठनको बाटोमा रहेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा ‘एमालेजनमा निवेदन’ शीर्षक राखेर उपमहासचिव भट्टराईले पार्टीभित्र वैचारिक, राजनीतिक, सांगठनिक तथा ब्यवहार, कार्यशैली, आचरण र नेतृत्वको व्यापक र बहुआयामिक पुनर्गठनमार्फत नेकपा एमालेको पुनर्जागरण गर्ने र सबै पक्षमा यथास्थिति रहने भन्ने बहसले पार्टी पुर्गठनको दिशामा पुगेरै छाड्ने उल्लेख गरेका छन् ।
अहिले एमालेमा चलिरहेको बहसमा राजनीतिक र वैचारिक दिशा दिन अपिल गर्दै उनले लेखेका छन्, ‘अनेक पार्टीसँग सत्ता साझेदारी गरेको पार्टीले आफ्नै पार्टीभित्रको फरक विचारप्रति बैरभाव राख़्नु एमालेले निर्माण गरेको सभ्यता र संस्कृतिको खिलाफ हुन्छ ।’
उनले लेखेका छन्, ‘एमालेमा दुईवटा बिचारका बीचमा बहस भइरहेको छ । यो बहस पार्टी कमिटीमा मात्र सीमित नभएर सार्वजनिक सञ्चारमाध्यमसम्म पुगेको छ । बहसमा एमालेपंक्तिका अलावा सार्वजनिक टिप्पणीकार र बुद्धिजीवीहरूको समेत सहभागिता देखिन्छ ।’
‘राजनीतिक बहस र छलफलले पार्टीलाई कहिल्यै कमजोर नबनाएको उल्लेख गर्दै लेखेका छन्, ‘आफना बिचारका विरुद्ध उभिनुभएका मनमोहन अधिकारी, सीपी मैनाली लगायतका नेताहरूलाई मदन भण्डारीले कसैको दलाल वा एजेण्ट भन्नुभएन बरु उहाँहरूलाई पार्टीमा सम्मानजनक स्थानमा राखेर सहकार्य गर्नुभयो । यो हो एमालेको संस्कृति ।’
भट्टराईले समयानुकुल पार्टी पुनर्गठन हुने र पुर्नगठित पार्टीमा सबैको सम्मान हुने बताएका छन् । ‘निषेधकारी व्यवहारको अन्त्य हुने छ । पार्टी सामुहिक र संस्थागत ढाँचामा चल्ने छ । हामी मदन भण्डारीका उत्तराधिकारीहरू हौँ’, उनले लेखेका छन् ।





प्रतिक्रिया