कतारमा नेपाली काम गर्ने क्षेत्रमा भीषण विष्फोट, ५४ जना घाइते, १८ वेपत्ता

कतारमा नेपाली काम गर्ने क्षेत्रमा भीषण विष्फोट, ५४ जना घाइते, १८ वेपत्ता


काठमाण्डु – कतारको दोहास्थित रास लाफान इन्डस्ट्रियल सिटीको एक ग्यास प्लान्टमा भीषण विष्फोट भएको छ। विस्फोटमा ५४ जना घाइते भएका छन् भने १८ जना वेपत्ता भएका छन्।

कतारको स्थानीय प्रशासनका अनुसार अचानक विष्फोट भई ठूलो आगलागी भएको हो । कम्पनीले आपत्कालीन टोलीहरूलाई तुरुन्तै घटनास्थलमा खटाइएको र छोटो समयमै आगो नियन्त्रणमा लिइएको जनाएको छ।

रास लफान क्षेत्रमा नेपाली, भारतीय र बंगलादेशी श्रमिक काम गर्दै आइरहेका छन्। रास लफान कतारको मुख्य एलएनजी (तरलीकृत प्राकृतिक ग्यास) प्रशोधन केन्द्र हो। यो क्षेत्रमा नेपाली श्रमिकहरू स्काफफोल्डिङको काम गर्छन्।

कतारको गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विष्फोटमा ५४ जना घाइते भएको र बेपत्ता रहेका १८ जनाको खोजी कार्य भइरहेको पुष्टि गरेको छ।मन्त्रालयका अनुसार विष्फोट प्राविधिक गडबडीका कारण भएको हो। यसबाट सर्वसाधारणको सुरक्षामा खतरा पुग्ने गरी कुनै पनि ग्यास चुहावट नभएको स्पष्ट पारिएको छ।

कतारको आन्तरिक बजारमा ग्यास आपूर्ति गर्ने उक्त प्लान्टमा विष्फोटका कारण के(कति क्षति पुग्यो भन्नेबारे भने आधिकारिक रूपमा केही खुलाइएको छैन। यसैबीच, एक प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार विष्फोटको ठूलो आवाज राजधानी दोहासम्म पनि सुनिएको थियो।

विश्वकै प्रमुख प्राकृतिक ग्यास उत्पादकमध्येको एक कतारको यो मुख्य केन्द्रमा भएको विष्फोटले विश्वव्यापी ऊर्जा बजारमा थप हलचल र अनिश्चितता पैदा गर्न सक्ने अनुमान गरिएको छ।

विष्फोट भएको प्लान्टको क्षमता दैनिक करिब १.४ अर्ब स्ट्यान्डर्ड क्युबिक फिट ग्यास उत्पादन गर्दै आएको छ । कतारले यो ग्यास मुख्य रूपमा देशको आन्तरिक विद्युत उत्पादन र मरुभूमिको देशमा खानेपानी आपूर्तिका लागि गरिने वाटर डिसालिनेशन (समुद्री पानीलाई पिउने योग्य बनाउने प्लान्ट) सञ्चालन गर्न प्रयोग गर्दै आएको थियो।