बालेन्द्रलाई विष्णु रिजालको सुझावः उत्तर र दक्षिणका छिमेकी मिलाउनुस्

बालेन्द्रलाई विष्णु रिजालको सुझावः उत्तर र दक्षिणका छिमेकी मिलाउनुस्


काठमाण्डु– एमाले युवा नेता एवं विदेश विभाग सदस्य विष्णु रिजालले दुई छिमेकी भारत र चीनसँग मुलुकको सम्बन्ध राम्रो बनाउन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् रिजालले छिमेक सम्बन्ध सुधार्न र थाती रहेका विषयमा ठोस उपलब्धी हासिल गर्नेगरी अघि बढ्न आग्रह गरेका हुन् । यदी त्यसो गर्न नसके आशंका र प्रश्न गर्नेहरु नै प्रशंसा गर्नेको अग्रपंक्तिमा उभिने रिजालको भनाइ छ ।

‘उत्तर–दक्षिण दुवैतिरका छिमेकीलाई राम्ररी मिलाउनूस् । थाती रहेका विषयहरुमा ठोस उपलब्धि हासिल गर्नूस् । यति गर्न सक्दा आज तपाईंप्रति शंका र प्रश्न गर्नेहरु नै भोलि प्रशंसा गर्न अग्रपंक्तिमा उभिनेछन्’, रिजालले लेखेका छन्, ‘अन्यथा, धेरै बोल्नु वा कम बोल्नु, कुनै देशको भ्रमण गर्नु वा नगर्नु अथवा कुनै विदेशीलाई भेट्नु वा नभेट्नुले देशका लागि कुनै अर्थ राख्दैन ।’

प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो राष्ट्रियताप्रति शंका नगर्न सार्वजनिक रुपमै आग्रह गरेको प्रसंग उल्लेख गर्दै नेता रिजालले प्रधानमन्त्रीको राष्ट्रियताप्रति रत्तिभर शंका नभएको बताए ।

तर, संसद्मा आफंले बोलेर शंका उब्जाउने काम गरेको टिप्पणी गरे ।

‘प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो राष्ट्रियताप्रति शंका नगर्न सार्वजनिक रुपमै आग्रह गर्नुभएछ । मलाई मेरो देशको प्रधानमन्त्रीको राष्ट्रियताप्रति रत्तिभर शंका छैन’, रिजालले भनेका छन्, ‘तर, संसद्मा जे बोल्नुभएको थियो, त्यसबाट उहाँ आफैँले शंका उब्जाउनुभएको थियो । चितवन पुगेर स्पष्ट पार्नुभएछ, राम्रै भयो । संसद्बाटै स्पष्ट पार्दा झन् राम्रो हुन्थ्यो ।’


जनताको प्रचण्ड बहुमत पाएको रास्वपाको सरकारमाथि नागरिकको ठूलो आशा रहेको भन्दै उनले ३५ बर्षमा अरुले केही गर्न सकेनन् भन्ने ‘न्यारेटिभ’ का साथ स्पष्ट बहुमतसहित पाँच वर्षका लागि सत्तामा आएको उल्लेख गरेका छन् ।