चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनले पार्टीको शीर्ष नेतृत्व पक्का भएको छ ।
चितवनमा जारी महाधिवेशनले सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा बालेन्द्र शाह पक्का भएका छन् । सभापति रवि र वरिष्ठ नेतामा बालेन्द्रका लागि निर्वाचन हुने छैन ।
पार्टी स्रोतका अनुसार अन्य पदाधिकारीहरूका बढीमा सहमति वा निर्वाचन जे भएता पनि उनीहरूको नाम पक्कापक्की भएको छ।
वरिष्ठ उपसभापतिमा स्वर्णिम वाग्लेको सम्भावना उच्च छ । त्यस्तै उपसभापतिमा बालेन्द्र टिमबाट सुनिल लम्साल र रवि टिमबाट महिला उपसभापतिमा प्रतिभा रावल बन्ने पक्का छ ।
महामन्त्रीमा रवि टिमबाट विपिनकुमार आचार्य र बालेन टिमबाट भूपदेव शाह पक्का भएका छन् । भूपदेव यसअघि पनि पार्टीको महामन्त्री थिए । बालेन काठमाण्डु महानगरपालिकाको मेयर हुँदा उनी स्वकीय सचिव थिए । भूपदेवको राजनीतिक यात्रा उज्जवल थापाले सुरू गरेको विवेकशील साझा पार्टीबाट थालनी भएको हो ।
विपिन रास्वपाका संस्थापक हुन् । यसअघि उनी सह–महामन्त्री थिए । रास्वपाको दस्तावेजमा आचार्यले सुरूदेखि नै काम गरेका थिए । आचार्याले नेपालमा ‘को बन्छ करोडपति’ रियालिटि शो ल्याएका थिए । त्यसका उनी निर्माता थिए । त्यसैबाट उनलाई धेरैले चिनेका हुन् ।
वर्तमान महामन्त्री कबिन्द्र बुर्लाकोटीले पुनः सोही जिम्मेवारीमा दोहोरिन चाहेका छन् । तर, निर्वाचन वा सर्वसम्मति दुवै विकल्पमा आचार्य बुर्लाकोटीभन्दा बलिया देखिएका छन् ।
कोषाध्यक्षमा लिमा अधिकारी पुनः दोहोरिने निश्चित भएको स्रोतले जनाएको छ ।
महाधिवेशनले नेतृत्व चयनसँगै संगठन सुदृढीकरण, नीति निर्माण र आगामी निर्वाचन रणनीतिबारे समेत छलफल केन्द्रित गरेको छ ।
पार्टी नेतृत्वले महाधिवेशनपछि संगठन विस्तार र जनसम्पर्क अभियानलाई प्राथमिकता दिने बताएको छ ।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले सहमति र सर्वसम्मत नेतृत्व चयनले पार्टीलाई आन्तरिक रूपमा बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
उनीहरूका अनुसार नयाँ नेतृत्वले पार्टीलाई राष्ट्रिय राजनीतिमा अझ प्रभावकारी रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया