वडाध्यक्षमाथि दुर्व्यवहार गरेको आरोपमा पत्रकार पक्राउ

वडाध्यक्षमाथि दुर्व्यवहार गरेको आरोपमा पत्रकार पक्राउ


काठमाण्डु- कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रवीन्द्र देवकोटामाथि सार्वजनिक स्थलमा दुर्व्यवहार तथा कुटपिट गरेको आरोपमा पक्राउ परेकी पत्रकार ऐश्वर्या कुँवरको घटनाबारे नेपाल पत्रकार महासंघले आन्तरिक छलफल सुरु गरेको छ ।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माकाअनुसार यस विषयमा महासंघको ध्यानाकर्षण भएको छ। घटनाबारे जिल्ला कार्यसमितिको बैठक २ बजे बसिरहेको उनले बताइन्।

‘अहिले २ बजे बैठक बस्दैछ,’ उनले भनिन्, ‘जिल्लाले गरेको निर्णय प्रदेशमा सिफारिस हुन्छ। त्यसअनुसार सम्बन्धित कदम चालिन्छ। यदी चित्त नबुझेको खण्डमा केन्द्रबाट हेरिनेछ।’

आइतबार महेन्द्रनगरमा आयोजित कार्यक्रममा वडाध्यक्ष देवकोटामाथि पत्रकार कुँवरले दुर्व्यवहार गरेको भिडिओ सार्वजनिक भएको थियो। घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिइसकेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार देवकोटाले कुँवरविरुद्ध अभद्र व्यवहारको मुद्दामा किटानी जाहेरी दिएका छन्।

हाल उनी प्रहरी हिरासतमा रहेकी छन् र घटनाबारे अनुसन्धान जारी छ। उनका अनुसार घटनाबारे जिल्ला समितिले आवश्यक छलफल गरी निर्णय गर्नेछ र उक्त निर्णय प्रदेश समितिमा सिफारिस गरिनेछ।