रवि र बालेनलाई चुनौती दिँदै मनिष झाद्वारा महामन्त्रीमा उम्मेद्वारी घोषणा

रवि र बालेनलाई चुनौती दिँदै मनिष झाद्वारा महामन्त्रीमा उम्मेद्वारी घोषणा


चितवन– राष्ट्रिय स्वतनत्र पार्टीका प्रवक्ता मनिष झाले सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीच पद भागबण्डा सम्बन्धमा भएको सहमति नमान्ने घोषणा गरेका छन् ।

झाले आफूले महामन्त्रीमा उम्मेदवारी दिने बताए । भरतपुरस्थित महाधिवेशनको बन्दसत्र हलबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै झाले आफूले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरे ।

सभापति लामिछाने र प्रधानमन्त्री बालेनबीच दुईमध्ये एक–एक महामन्त्री लिने सहमति भइसकेको छ । बालेन टिमबाट भुपदेव शाह महामन्त्री बन्ने करिब पक्का छ ।

लामिछानेले आफ्नो तर्फबाट विश्वासपात्र विपिनकुमार आचार्यलाई अघि बढाएका छन् । निर्वाचन वा सहमति दुवै अवस्थामा बालेनले शाह र लामिछानेले आचार्यलाई महामन्त्रीमा ल्याउन चाहेका छन् ।

प्रवक्ता झाले आफूले महामन्त्रीको अगाडिदेखि नै तयारी गरेकाले पछि नहट्ने स्पष्ट गरे । परिणाम जस्तो आए पनि महामन्त्रीमा निर्वाचन लड्ने उदघोष झाको छ ।

‘महामन्त्री पदका लागि मानसिक रुपमा तयार भइसकेँ’, झाले भने, ‘परिणाम जेसुकै होस्, म अब भिड्नका लागि तयार भएको छु ।’ झाले महामन्त्रीमा आफ्नो दाबी स्वभाविक रहेको तर्क गरे ।

आफूले पार्टीको सभापति र प्रधानमन्त्रीमा दाबी नगरेको र त्यो महत्वाकांक्षा पनि नरहेको भन्दै उनले महामन्त्रीमा चुनाव लड्ने निर्णयबाट पछि नहट्ने बताए ।

‘देशको प्रधानमन्त्री हुन्छु, पार्टीको सभापति हुन्छु भन्ने मेरो कहिले पनि अपेक्षा छैन’, झाले भने , ‘तर अहिलेसम्म जुन तहको नेतृत्व लिएर आएँ त्यो भन्दा अगाडि बढ्छु भन्ने अपेक्षा राख्न मिल्छ ।’