शिक्षामन्त्री पोखरेलद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी


काठमाण्डु – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने पक्का भएको छ ।

मन्त्री पोखरेलले सोमबार सामाजिक सञ्जाल फेसबूकमा पोस्ट गर्दै पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले केन्द्रीय सदस्य भएर पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन भूमिका खेल्ने बताए ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएको जानकारी गराउन चाहन्छु, पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धतासहित यहाँहरूको विश्वास र समर्थनको अपेक्षा गर्दछु,’ मन्त्री पोखरेलले फेसबूकमा पोस्ट गरेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमा शिक्षा तथा खेलकुदमन्त्रीको जिम्मेवारी सम्हालेका पोखरेल रास्वपाको तर्फबाट काठमाण्डु क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद हुन् ।

निर्वाचनकै समयमा ‘हट सिट’का प्रतिस्पर्धी पोखरेल निर्वाचन अभियान शैलीलाई लिएर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा चर्चामा थिए । नेपाल सरकारको प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका मन्त्री पोखरेल विषयवस्तुको गहिरो अध्ययन, स्पष्ट दृष्टिकोण र शालीन प्रस्तुतिले सबैमाझ लोकप्रिय छन् ।

रास्वपाको चितवनमा जारी पहिलो महाधिवेशनअन्तर्गत बन्द सत्रबाट प्रतिवेदन पारित भएपछि मंगलबार निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ ।