रास्वपा महाधिवेशनमा फुर्सदिला ३ मन्त्रीद्वारा माडी जाने सडक निरीक्षण

रास्वपा महाधिवेशनमा फुर्सदिला ३ मन्त्रीद्वारा माडी जाने सडक निरीक्षण


भरतपुर – भरतपुर–माडी सडकखण्डअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्रको सडकको सोमबार ३ जना मन्त्रीले निरीक्षण गरेका छन् ।

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनमा फुर्सदिला बनेका मन्त्रीहरू सडक निरीक्षणमा पुगेका हुन् । रास्वपा महाधिवेशनमा सोमबार बन्दसत्र हुनुपर्नेमा मंगलसम्मका लागि स्थगित भएको छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सडकको स्थलगत निरीक्षण गरेका हुन् ।

सडकमा सवारी आवतजावतलाई सहज बनाउनका लागि तत्कालका लागि डिविएसटी पिच गर्ने र दीर्घकालीन रूपमा समस्या समाधनका लागि धु्रवघाटमा पक्की पुल निर्माण गरेर व्यवस्थित सडक निर्माण गरिने पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताए । मन्त्री लम्सालले धु्रवघाटको पुल र सडकको निर्माणका लागि छिट्टै टेण्डर खोलिने बताए ।

हुलाकी सडकखण्डअन्तर्गत पर्ने सडक माडीबाट भरतपुर आउने एक मात्र सडक हो । अहिले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम भइरहेको छ । धु्रव पोष्टबाट राप्ती नदीमा ५०० मिटर लामो पुल निर्माण गरिने चितवन–३ का सांसद तथा मन्त्री सोविता गौतमले बताए । उनले निकुञ्जभित्र सडकको वैकल्पिक रेखांकन भइरहेको जानकारी दिए ।

धु्रवघाटमा पुल निर्माण भए माडी जाने बाटो झण्डै ५ किलोमिटर छोटो हुनेछ । यो सडक भरतपुरबाट माडी ठोरी हुँदै वीरगञ्जसम्म पुग्छ । भरतपुरबाट भारतको सीमावर्ती क्षेत्र भिखना ठोरी जानका लागि यही मार्ग छोटो पर्छ ।