विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो – अपहरण शैलीमा गिरफ्तारी

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो – अपहरण शैलीमा गिरफ्तारी


काठमाण्डु – नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुर्खेतमा रहेका बेला पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति जनाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यमा गिरफ्तारीलाई गैरकानुनी, अलोकतान्त्रिक तथा प्रतिशोधपूर्ण कदमको संज्ञा दिँदै यसको घोर निन्दा र भर्त्सना गरिएको छ ।

एमालेले उपाध्यक्ष पौडेल पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेको र कार्यक्रम सम्पन्न गरी भोलिपल्ट काठमाण्डु फर्किने पूर्वनिर्धारित कार्यतालिका रहेको जनाएको छ । वक्तव्यमा कानुनी प्रक्रिया र विधिको शासनको सामान्य मर्म समेत पालना नगरी अपहरण शैलीमा गिरफ्तारी गरिएको आरोप लगाइएको छ ।

पार्टीले आवश्यक परे सोधपुछ वा अनुसन्धानका लागि अन्य कानुनी विकल्प उपलब्ध हुँदाहुँदै राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिएको दाबी गरेको छ । एमालेका अनुसार सार्वजनिक जीवनमा लामो समयदेखि सक्रिय रहँदै आएका तथा कानुनको सम्मान गर्दै आएका व्यक्तिलाई राजनीतिक उद्देश्यका लागि पक्राउ गरिएको छ ।

वक्तव्यमा वर्तमान सरकारले विपक्षी दलप्रति अराजनीतिक, अलोकतान्त्रिक र प्रतिशोधपूर्ण व्यवहार गरिरहेको आरोप लगाउँदै पक्राउको घटना एमालेमाथि निरन्तर भइरहेको राजनीतिक दबाब र षड्यन्त्रको अर्को कडी भएको उल्लेख गरिएको छ । पार्टीले सरकार सर्वसत्तावाद र अधिनायकवादतर्फ उन्मुख भएको दाबी गर्दै विपक्षी नेताहरूमाथि लक्षित यस्ता गतिविधि तत्काल बन्द गर्न चेतावनी दिएको छ ।

एमालेले सरकारका कथित स्वेच्छाचारी तथा लोकतन्त्रविरोधी गतिविधिविरुद्ध एकजुट भएर प्रतिवाद गर्न देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिहरूलाई आह्वान समेत गरेको छ ।