मदनकृष्ण श्रेष्ठको बायोपिक ‘मदनकृष्ण’ बन्ने

मदनकृष्ण श्रेष्ठको बायोपिक ‘मदनकृष्ण’ बन्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने भएको छ । सोमबार काठमाण्डुमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक मिलन चाम्सले चलचित्र निर्माण हुने जानकारी दिए ।

यसअगाडि ‘बबी’, ‘ब्लाइन्ड रक्स’ र ‘अञ्जिला’जस्ता सफल ‘बायोपिक’ चलचित्र निर्देशन गरिसकेका निर्देशक चाम्सले यसले आफूलाई अवसर र चुनौतीसँगै दिएको बताए।

‘यो चलचित्र निर्देशन गर्न पाउँदा म निकै खुसी छु, सर्वप्रिय कलाकारको जीवनीलाई पर्दामा उतार्न पाउनु नै मेरा लागि अवसर हो । उनको जीवनीलाई पर्दामा ल्याउने तयारी हुँदै गर्दा धेरै कुराहरू थाहाँ पाएँ, उहाँको जीवनी चलचित्रभन्दा कम छैन’, निर्देशक चाम्सले भने ।

अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो जीवनीलाई चलचित्रको पर्दामा ल्याउने तयारी गरिरहेका निर्माण समूहलाई धन्यवाद दिए । ‘म आफूले सकेको काम गरिरहेको छु, स्वास्थ्यले साथ दिएसम्म शरीरलाई जबर्जस्ती भए पनि काममा लगाइरहनेछु । मेरो जीवनीलाई चलचित्रमा ल्याउन आट गर्नुहुने सम्पूर्ण टोलीलाई धन्यवाद । साथै, यो यात्रामा मसँगै ह अर्थात् हरिवंशको पनि उत्तिकै साथ र भूमिका छ । मेरो जीवनी उहाँ बिना अधुरो र अपुरो छ । त्यसैले म पछाडि हरिवंशको पनि जीवनी पर्दामा ल्याइने भनेपछि मैले मेरो बारेमा चलचित्र बनाउन सहमति दिएको हुँ’, अभिनेता श्रेष्ठले भने ।

अभिनेता श्रेष्ठले चलचित्रमा आफ्नो भूमिका निर्वाह गर्ने कलाकार महेश त्रिपाठीको कामको चर्चा गर्दै सुहाउँदो कलाकार छनोट भएको बताए । ‘मेरो र महेशजीको पुराना तस्बिर हेर्ने हो भने उस्तै देखिन्छ, अभिनय त उहाँले गज्जबै गर्नुहुन्छ । राम्रो चलचित्र बन्छ भन्नेमा पूर्ण विश्वस्त छु’, अभिनेता श्रेष्ठले भने ।

उक्त चलचित्रमा अभिनेता श्रेष्ठसँगै मह सञ्चारसँग जोडिएका किरण केसी, राजाराम पौडेल, गौरीशङ्कर धुजु, नरेन्द्र कंशाकारको पनि सहकार्य रहनेछ । यस्तै, यम थापाको लेखनमा तयार हुने उक्त चलचित्रमा अभिनेत्री केकी अधिकारी, यमन श्रेष्ठ, रुषा न्यौपाने, देशभक्त खनाललगायत कलाकारको अभिनय रहनेछ ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, गायिका आनी छोइङ डोल्मा, गायक प्रेमराजा महत, निर्देशक लक्ष्मण सुवेदी, सुदन केसीलगायतको उपस्थिति थियो । उक्त चलचित्रको छायाङ्कन भदौदेखि सुरू हुने छ ।