काठमाण्डु– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुर्खेतमा नियन्त्रणमा लिइएको घटनालाई नियोजित भएको बताएका छन् ।
पोखरेलले सामाजिक सञ्जालमार्फत पौडेललाई पार्टी कार्यक्रममा सहभागी हुन गएका बेला पक्राउ गरिनु पूर्वाग्रही, प्रतिशोधपूर्ण र अदृश्य शक्तिकेन्द्रको प्रभावमा भएको कदम भएको आरोप लगाएका हुन् ।
उनले राज्यका अनुसन्धान गर्ने निकायलाई अदृष्य शक्तिकेन्द्रले संचालन गरेको आरोप समेत लगाए ।
उनले भने ‘केही समय पहिले सम्पत्ति सुद्धिकरण विभागका डिजिले फोनमा कुराकानी गरेर भोली काठमाण्डुमा आएपछि सम्पर्कमा आउनु होला भनेर अनुरोध गरेको र त्यसको केही समय पश्चात सुर्खेत प्रहरीलाई पत्रचार गरेर नियन्त्रणमा लिन निर्देशन दिएको घटनाले राज्यका अनुसन्धान गर्ने निकायलाई अदृष्य शक्तिकेन्द्रले संचालन गरेको देखिन्छ ।’
यस्तै उनले राज्यका कुनै पनि न्यायिक अनुसन्धानमुलक निकाय स्वतन्त्र र निष्पक्ष हुनु पर्ने बताएका छन् ।
पोखरेलले भने, ‘राज्यका कुनै पनि न्यायिक अनुसन्धानमूलक निकाय राजनीतिक पूर्वाग्रह, प्रतिशोध वा सस्तो लोकप्रियताबाट प्रेरित हुनुहुँदैन । अनुसन्धान र अभियोजन प्रक्रिया तथ्य, प्रमाण र कानुनको अक्षरशः पालनामा आधारित हुनुपर्छ, कसैलाई सिध्याउने वा रिसइबी साँध्ने हतियारका रूपमा प्रयोग हुनुहुँदैन ।’
सस्तो लोकप्रियताका लागि सरकारको निर्देशनमा भएको यसप्रकारको प्रतिशोधपूर्ण कार्यको कानूनी र राजनीतिक रुपमा दृढतापूर्वक प्रतिवाद गरिनेछ ।




प्रतिक्रिया