बर्सेनि हजारौं नेपाली चिकित्सक पलायन हुँदै

बर्सेनि हजारौं नेपाली चिकित्सक पलायन हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आकर्षक सेवा सुविधा पाउने मोहमा प्रायः नेपाली चिकित्सकले रोजगार गन्तव्यका लागि बाहिरी मुलुकनै रोज्ने गरेको डरलाग्दो तथ्यांक बाहिरिएको छ ।

नेपाल मेडिकल काउन्सिलले वार्षिक झन्डै २ हजारको संख्यामा चिकित्सकीय दर्ता प्रमाणपत्र (लाइसेन्स) प्रदान गर्ने गर्छ । त्यतिकै संख्यामा विदेश जान चिकित्सकले काउन्सिलबाट ‘असल चारित्रिक प्रमाणपत्र’ लिने गरेको पाइएको छ ।

काउन्सिलमा सन् २०२५ मा २ हजार १२२ जनाले चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) लिएका थिए । सोही वर्ष २ हजार ३९० जना चिकित्सकले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन् । यस वर्ष लाइसेन्स लिएकाले भन्दा २६८ जना बढी चिकित्सक बाहिर जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन् ।

काउन्सिलको चारित्रिक प्रमाण प्रमाणीकरण शाखा प्रमुख प्रदीप रिजालले सन् २०२० यता १३ हजार १४० चिकित्सकले लाइसेन्स लिएका र ११ हजार ६८ चिकित्सक बाहिरी मुलुक जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएको बताए ।

काउन्सिलका निमित्त रजिष्ट्रार डा दीपेन्द्र पाण्डेले विगत १० वर्षदेखि चिकित्सकहरु राम्रो सेवा सुविधाका लागि विदेश जाने गरेको बताउछन् । तथ्यांक अनुसार सबभन्दा धेरै चिकित्सक अमेरिका, वेलायत, माल्दिभ्स, सयुक्त अरब इमिरेट, अस्ट्रेलिया, भारत, क्यानडा, जर्मन जाने गर्छन् । नेपालमा मेडिकल अधिकृत तहमा कमै अवसर हुने गर्दछ । त्यसैले स्नातकोत्तर तह पढ्दै र अस्पतालमा काम गर्न असल चारित्रिक प्रमाण पत्र लिने गरेका हुन् ।

काउन्सिलको तथ्यांक अनुसार अमेरिकामा सन् २०२० यता वर्षमा दुई हजार ९९५ जना चिकित्सक गएका छन् । अमेरिकापछि बेलायतमा दुई हजार ६३७ जना, माल्दिभ्समा दुई हजार २४१ जना, अस्ट्रेलिया ८४८ जना, संयुक्त अरब इमिरेटसमा ७२० जना, क्यानडामा १४८ जना, जर्मनमा ९२ जना चिकित्सक गएकाे तथ्यांक देखिएको छ । छिमेकी मुलुक भारतमा पनि ९१८ जना चिकित्सक गएको तथ्यांक छ । काउन्सिलका अनुसार चिकित्सक विभिन्न २३ मुलुक जाने गरेका छन् ।

सन् २०२० मा ८६९ जना चिकित्सक मुलुक बाहिर जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन् । यस्तै सन् २०२१ मा एक हजार ३२७ जना, सन् २०२२ मा एक हजार ९५४ जना, सन् २०२३ मा दुई हजार ३१८ जना, सन् २०२४ मा दुई हजार २१० जनाले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन् ।

यस्तै सन् २०२० मा २ हजार १३१ जना चिकित्सकले दर्ता प्रमाणपत्र लिएका छन् । सन् २०२१ मा एक हजार ७१६ जना, सन् २०२२ मा २ हजार ८५ जना, सन् २०२३ मा २ हजार ६९२ जना, सन् २०२४ मा २ हजार ३९४ जना चिकित्सकले काउन्सिलबाट दर्ता प्रमाणपत्र (लाइसेन्स) लिएका छन् ।

नेपालमा सेवा सुविधा कम भएको कारणले चिकित्सक रोजगारीका लागि विदेश जाने गरेका छन् । काउन्सिलमा अहिलेसम्म ३९ हजार ४८६ जना चिकित्सकले लाइसेन्स लिइसकेका छन् ।