काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रथम राष्ट्रिय महाधिवेशन २ दिन लम्बिने भएपछि तिरिसकेको प्रतिनिधि शुल्क ५ हजार रुपैयाँ फिर्ता माग्न सकिने भएको छ ।
मंगलबार बन्दसत्रको उद्घाटन गर्दै सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका लागि तोकिएको ५ हजार शुल्क स्वेच्छिक भएको घोषणा गरे ।
सभापतिको विशेषाधिकार प्रयोग गर्दै उनले प्रतिनिधि शुल्क स्वेच्छिक बनाएसँगै शुल्क तिरिसकेकाहरूले पनि फिर्ता लिन सक्ने जानकारी दिए ।
उनले भने, ‘प्रतिनिधिका रूपमा तोकेको ५ हजार स्वेच्छिक बनाउन चाहन्छु । यति धेरै दिन बस्दा तपाईंहरूलाई दु:ख भयो होला । चाहनुहुन्छ भने तिरेकाहरूले पनि फिर्ता लिन सक्नुहुनेछ ।’
सभापति लामिछानेले निर्वाध रूपमा उम्मेदवारी दिन आग्रह गर्दै रास्वपा पुराना पार्टी र नेताहरू जस्तो नभएको बताए । उनले यसलाई र उसलाई भोट दिनु भन्ने मानिस रास्वपा हुन नसक्ने पनि बताए ।
‘विवेक प्रयोग गरेर ५२ लाख नागरिकले रास्वपालाई शक्तिशाली दल बनाए,’ उनले भने, ‘अब पार्टीमा पनि हामीले विवेक प्रयोग गर्नुपर्छ ।’




प्रतिक्रिया