चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रथम राष्ट्रिय महाधिवेशनबाट सहमतिमै नयाँ नेतृत्व चयन गर्ने चाहना सभापति रवि लामिछानेले राखेका थिए । महाधिवेशन उद्घाटनसत्र सकिएपछि भोलिपल्ट बन्दसत्र नै नगरी रवि र वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन’ले सहमतिबाट नेतृत्व चयनबारे छलफल समेत गरेका थिए । तर पद संख्याभन्दा आकांक्षी धेरै देखिएपछि सहमतिको सम्भावना टरेको छ ।
बन्दसत्र भएको झण्डै ४८ घण्टापछि बन्दसत्र उद्घाटन गर्दै सभापति रविले मतदान हुने स्पष्ट संकेत दिए । उनले आफ्नो नजिककालाई भन्दा योग्य व्यक्तिलाई मतदान गर्न अपिल समेत गरे । रास्वपामा नयाँ समूह र व्यक्तिहरू आएर पार्टी बलियो भएको अवस्थामा निर्वाचनमा जाँदा केन्द्रीय समितिमा आउनैपर्ने केही व्यक्तिहरू छुट्न सक्ने भएकाले सहमतिको प्रयास गरिएको थियो । तर अब महाधिवेशन मतदानतर्फ उन्मुख भएको छ
रास्वपाले सक्षम नेतृत्व चयन गर्न कडा मापदण्ड समेत लागू गरेको छ । योग्य व्यक्तिलाई मात्र प्रतिस्पर्धामा आउन दिने उद्देश्यले नियममा कडाइ गरिएको छ । निर्वाचन प्रक्रियाअनुसार सभापति, पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि १/१ जना प्रस्तावक अनिवार्य गरिएको छ । सभापतिका लागि ५१ जना समर्थक र पदाधिकारी र केन्द्रीय सदस्यका लागि २१/२१ जना समर्थक अनिवार्य गरिएको छ ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार प्रस्तावक र समर्थक दुवै उम्मेदवार स्वयं हुन नपाउने व्यवस्था गरिएको छ । उनले भने, ‘नेतृत्व विकास भएका सक्षम व्यक्तिलाई जिम्मेवारी दिन यो नियम राखिएको हो ।’
देशकै ठूलो पार्टीका रूपमा रास्वपाको संगठन सञ्चालनका लागि क्षमतावान र योग्य समूह आवश्यक भएकाले सोहीअनुसार छनोट प्रक्रिया कडा बनाइएको केसीले बताए । यसले केन्द्रमा प्रतिस्पर्धा गर्न सक्ने निखारिएका नेतृत्व मात्र अघि आउने उनको भनाइ छ ।
संगठन विस्तारमा सक्रिय रहेकाहरूलाई समर्थक जुटाउन सहज हुने र उनीहरू नेतृत्वमा पुग्ने सम्भावना बढी हुने उनले बताए ।
मंगलबार बन्दसत्र समाप्त भएपछि निर्वाचन प्रक्रिया अगाडि बढ्ने भएको छ ।




प्रतिक्रिया