काठमाण्डु – चरा तथा पन्छीहरूमा लाग्ने अतिसंक्रामक भाइरल रोग बर्ड फ्लुको संक्रमण अहिलेसम्म ११ जिल्लाका ८२ स्थानमा देखिएको छ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार चैत ४ गते मोरङ जिल्लामा देखिएको बर्ड फ्लु अहिलेसम्म ११ जिल्लाको ८२ ठाउँमा फैलिएको छ।
झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाण्डु, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लु देखिएको छ। हालसम्म बर्ड फ्लुबाट प्रभावित भएका ५ लाख ६९ हजार ८ सय ५८ पन्छी र सो क्रममा ९ लाख ८९ हजार ३ सय १३ वटा अन्डा र १ लाख ९५ हजार ४ सय ८५ किलो दाना नष्ट गरिएको छ।
कोशी प्रदेशमा एक महिनासम्म रोग नियन्त्रणका लागि पन्छीको ओसारपसारमा रोक लगाएकोमा हाल रोग नियन्त्रण आएपछि खुकुलो बनाइएको डा. दाहालले बताए। पशु क्वारेन्टाइन कार्यालयमा बर्ड फ्लु रोग सर्न उच्च सतर्कतामा रही, गस्ती परिचालन गरी अवैध रूपमा पैठारी गरिएका शंकास्पद पन्छीहरू नष्ट गरिएको थियो।
झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासीमा रोग नियन्त्रणमा आइसकेको छ। काठमाण्डु उपत्यकाका तीन जिल्ला र काभ्रेका केही स्थानमा बर्ड फ्लु रोगको प्रकोप देखिएको छ।
पशुसेवा विभागका महानिर्देशक उमेश दाहालका अनसार पछिल्लो समयमा काठमाण्डु उपत्यकामा एकदमै धेरै प्रकोप भएर हटस्पट बनेको छ ।
पछिल्ला दिनहरूमा परीक्षण गरिएका थुप्रै नमुनामध्ये केहीमा मात्र एचफाइभ भाइरस देखिएको हुनाले अब बिस्तारै नियन्त्रण हुने उनले बताए । यसअघि काठमाण्डुमा २०७० सालमा बर्ड फ्लूको ठूलो प्रकोप देखिएको थिषे । त्यतिखेर भक्तपुर जिल्लालाई नै सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको थियो । नेपालमा यो रोग पहिले झापामा २०६५/६६ सालमा देखियो थियो ।




प्रतिक्रिया