काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको निर्वाचन तत्काल सुरू नहुने देखिएको छ। निर्वाचन आयोगले उम्मेदवारहरूको बन्दसूची ढिला दिँदा र इलेक्ट्रोनिक भोटिङ मेसिनमा डाटा इन्ट्री प्रक्रियाका लागि कम्तिमा पाँच घण्टा लाग्ने हुँदा निर्वाचन प्रक्रिया पछाडि सर्ने भएको रामलक्ष्मण इनोभेसनका राम रिमालले जानकारी दिए।
‘उम्मेदवारहरूको बन्दसूची दिएपछि मात्र चुनाव हुन्छ। ‘हामीले सम्झौतामा १७ घण्टा समय दिनुपर्छ भनेका छौं तर छिटो गर्दा पनि मेसिनमा नाम राख्न कम्तीमा ५ घण्टा लाग्छ।’ रिमालले भने ।
पहिलो चरणमा हुने पदाधिकारी निर्वाचनका लागि हिजो राति ११ बजे नै अन्तिम नामावली उपलब्ध गराउने भनिएता पनि अहिलेसम्म नामावली प्राप्त नभएको उनले बताए ।
‘पदाधिकारीको नाम टुंगो लागेकै छैन। टुंगो लागेपछि पनि दाबी विरोधको सूचना जारी गर्दा अन्तिम नामावली आउन समय लाग्छ,’ उनले भने, ‘त्यसपछि मेसिनमा नाम राख्न पाँच घण्टा लाग्छ र त्यसपछि मात्रै मतदान सुरु हुन्छ।’
यस परिस्थितिमा उम्मेदवारहरूको सूची छिटो टुंगिए पनि प्राविधिक तयारी र प्रक्रिया पूरा हुन समय लाग्ने भएकाले बुधबार दिउँसो मतदान सुरु हुने सम्भावना कम देखिएको हो। त्यसैले साँझ वा मध्यराति मात्रै मतदान प्रक्रिया सुरु हुन सक्ने अनुमान गरिएको हो।




प्रतिक्रिया