काठमाण्डु – प्रधानन्यायाधीश मनोजकुमार शर्माको नियुक्ति विरुद्धको रिट दरपीठ गर्ने आदेशलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले सदर गरेको छ ।
प्रधानन्यायाधीश शर्मा, न्यायाधीशहरू कुमार रेग्मी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासले रिटलाई दरपीठ गर्ने प्रशासनको आदेशलाई नै सदर गरेको हो ।
प्रधानन्यायाधीश नियुक्तिको विषयमा पेश भएको रिटमा भएको दरपीठ आदेशविरूद्ध आज संवैधानिक इजलासमा पेस भएकोमा दरपीठ आदेश सदर भएको सर्वाेच्चका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा शर्मालाई नियुक्त गर्न सिफरिस गरेपछि सर्वोच्चमा ३ वटा रिट पेस भएका थिए । ३ वटै रिटलाई सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो । दरपीठविरूद्ध पेस भएका निवेदनलाई सर्वोच्चको प्रशासनले प्रधानन्यायाधीश शर्माको नियुक्ति नहुँदासम्मका लागि रोकेको थियो ।
जेठ ११ गते ती तीनै वटा निवेदन न्यायाधीश मेघराज पोखरेलको इजलासमा पेस भएका थिए । त्यसमध्ये अधिवक्ता गीता थापा समेतले दायर गरेको रिट दरपीठ विरुद्धको निवेदनलाई संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको थियो ।




प्रतिक्रिया