काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले व्यवसायी दुर्गा प्रसाईँमाथिको राज्य विरुद्धको कसूर मुद्दा फिर्ता लिने भएको छ ।
काठमाण्डुको तीनकुनेमा भएको आन्दोलन हिंसात्मक भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रसाईँसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेताहरूमाथि मुद्दा चलाएको थियो ।
बालेन सरकारले मुद्दा फिर्ता लिएपछि प्रसाईँसँगै राप्रपाबाट विद्रोह गरेका नेता धवलशमशेर जबरा, राप्रपाबाट निष्क्रिय भइसकेका रविन्द्र मिश्र लगायतले राहत पाउनेछन् ।
उच्च स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयले गृहसचिवलाई मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेको छ ।
२०८१ चैत १५ गते नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले तोकेका ‘जनकमाण्डर’ प्रसाईँको नेतृत्वमा आह्वान भएको तीनकुनेको प्रदर्शन हिंसात्मक हुँदा २ जनाको मृत्यु तथा निजी घर, सरकारी गाडी, जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो ।
घटनामा सरकारी वकिलको कार्यालय काठमाण्डुले ६१ जनाविरुद्ध जिल्ला अदालत काठमाण्डुमा जेठ ११ गते मुद्दा दायर गरेको थियो । ५० जनाविरुद्ध आपराधिक उपद्रव, राज्य विरुद्धको कसुर र संगठित अपराध कसूरमा मुद्दा दायर भएको थियो । त्यसमध्ये दुर्गा प्रसाईंसहित ८ जनाविरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा समेत मुद्दा दायर भएको थियो । ११ जनाविरुद्ध आपराधिक उपद्रवमा मात्रै मुद्दा दायर भएको थियो । उनीहरू सबै जना धरौटीमा रिहा भएका थिए ।




प्रतिक्रिया