काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको पहिलो चरणको निर्वाचनमा १३ सय ५२ जना प्रतिनिधिले मतदान नगरेको पाइएको छ।
९९ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय माध्यमबाट भएको मतदानमा २९५९ जना प्रतिनिधिले मात्रै मत खसालेका थिए। महाधिवेशनमा कुल ४३११ जना प्रतिनिधि सहभागी रहेका थिए।
यसैबीच निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन आज अपराह्न ४ बजेदेखि सञ्चालन गर्ने तयारी गरेको छ। खुला उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री तथा एक महिला सहमहामन्त्री पदका लागि निर्वाचन हुन बाँकी छ। यी पदमा कसले उम्मेदवारी दिने भन्ने टुंगो लागिसकेको छैन।
उक्त पदका लागि पनि महाधिवेशन प्रतिनिधिहरूले नै मतदान गर्ने भएकाले नेताहरू हरि ढकाल, सोबिता गौतम, शिशिर खनाल र डा. तोसिमा कार्कीलगायतले दोस्रो चरणको मतदानमा सहभागी भएर मात्रै घर फर्किन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।
महाधिवेशनको व्यवस्थापकीय पक्ष कमजोर रहेको भन्दै प्रतिनिधि तथा नेताहरूबाटै आलोचना भइरहेको छ। व्यवस्थापनमा कमजोरी देखिएको स्वीकार गर्दै पार्टीका प्रवक्ता मनिष झाले यसप्रति आफूहरू लज्जित रहेको बताएका थिए।
यसैबीच केन्द्रीय सदस्य पदकी उम्मेदवार तथा सांसद टीका संग्रौला ज्वालाले आफ्नो पूरा नाम विद्युतीय मतदान मेसिनमा नदेखिएको भन्दै पार्टी निर्वाचन आयोगमा उजुरी दिएकी छन्।
महाधिवेशन प्रतिनिधिको टुंगो लगाउन समय लागेका कारण महाधिवेशन लम्बिएको हो। प्रतिनिधि चयन प्रक्रिया पूरा नहुँदै सभापति पदमा भने रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।




प्रतिक्रिया