११ महिनामा वीरगञ्ज भन्सारबाट २ खर्ब २१ अर्ब राजस्व संकलन

११ महिनामा वीरगञ्ज भन्सारबाट २ खर्ब २१ अर्ब राजस्व संकलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा २ खर्ब २१ अर्ब ७८ करोड राजस्व संकलन गरेको छ । कार्यालयले चालु आवमा २ खर्ब ४९ अर्ब १९ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

तर,सो अवधिमा भने लक्ष्यको ८९ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको ११ महिनामा राजस्व संकलन उत्साहजनक भएको दाबी गरे ।

‘कार्यालयले गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको ११ महिनाको अवधिमा ९ प्रतिशत बढी अर्थात १७ अर्ब ९७ करोड राजस्व संकलन भएको छ’, उनले भने । कार्यालयले गत आवको ११ महिनामा भने २ खर्ब ३ अर्ब ८१ करोड राजस्व संकलन गरेको थियो ।

भन्सार विभागले कार्यालयलाई वर्षभरिमा २ खर्ब ७३ अर्ब ३९ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । कार्यालयले चालु आवको साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७४ करोड, असोजमा १९ अर्ब ९ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड, मङ्सिरमा २० अर्ब ८० करोड राजस्व संकलन गरेको थियो ।

पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड र चैतमा २२ अर्ब ८२ करोड राजस्व संकलन गरेको छ । कार्यालयले वैशाखमा २१ अर्ब ७४ करोड राजस्व संकलन गरेको छ ।

जेठ महिनामा २२ अर्ब ३२ करोड राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै ८ अर्ब ९० अर्ब ७ करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको छ ।

गत आवको ११ महिनाको अवधिमा भने ७ खर्ब ७० अर्ब मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो । चालु आवको ११ महिनामा यो नाका हुँदै ९९ अर्ब ६६ करोड मूल्य पर्ने वस्तु तथा सामान विदेशीमुलुक निर्यात भएको छ । गत आवको ११ महिनामा भने ९६ अर्ब ७२ करोड मूल्य पर्ने वस्तु तथा सामान निर्यात भएको थियो ।