काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय निर्वाचन आयोगले राष्ट्रिय महाधिवेशनको परिमार्जित निर्वाचन कार्यतालिका २०८३ सार्वजनिक गरेको छ ।
आयोगले राष्ट्रिय महाधिवेशन निर्वाचन कार्यविधि, २०८३ को दफा ९ बमोजिम नयाँ कार्यतालिका पुन: प्रकाशन गरेको छ ।
पहिलो चरणको केन्द्रीय सदस्यको परिणाम घोषणा भएपश्चात् पार्टीको केन्द्रीय पदाधिकारी पदका लागि उम्मेदवारी फाराम वितरण तथा दर्ताको समय बेलुका ६:३० देखि ७:०० बजेसम्म तोकिएको छ । उम्मेदवारहरूको प्रारम्भिक नामावली साँझ ७:३० बजे प्रकाशन गरिनेछ भने उम्मेदवारविरुद्ध दावी वा विरोध गर्नका लागि साँझ ८:०० बजेसम्मको समय दिइएको छ ।
दावी–विरोधमाथि जाँचबुझ गरी उम्मेदवारी फिर्ता लिने अन्तिम समय साँझ ८:३० बजेसम्म रहने र त्यसको १५ मिनेटपछि अर्थात् साँझ ८:४५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । अन्तिम नामावली प्रकाशनसँगै साँझ ८:४५ देखि ९:१५ बजेसम्म आधा घण्टाको मौन अवधि रहनेछ ।
मौन अवधि सकिएलगत्तै असार ११ गते बिहीबार राति ९:१५ बजेदेखि १२:१५ बजेसम्म पार्टी पदाधिकारी चयनका लागि मतदान हुनेछ । मतदान सम्पन्न भएपछि असार १२ गते राति १२:१५ बजेदेखि १:१५ बजेसम्म मतगणना गरिनेछ र सोही राति १:३० बजे पदाधिकारीको अन्तिम मतपरिणाम घोषणा गर्दै निर्वाचनका सम्पूर्ण प्रक्रिया सम्पन्न हुने कार्यतालिकामा उल्लेख गरिएको छ ।




प्रतिक्रिया