काठमाण्डु– चितवनमा आज सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट सभापति रवि लामिछानेका विश्वासपात्र विपिन आचार्य महामन्त्रीमा निर्वाचित भएका छन्।
शुक्रबार सम्पन्न उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको निर्वाचनबाट निर्वाचित अधिकांश पदाधिकारी सभापति लामिछाने निकट रहेका छन्।
आज निर्वाचित पाँच पदाधिकारीमध्ये विपिन आचार्य, सोबिता गौतम, हरि ढकाल र निशा डाँगी रवि निकट नेताका रूपमा चिनिन्छन्। खुलातर्फका उपसभापति स्वर्णिम वाग्ले भने बिहीबार नै निर्विरोध निर्वाचित भएका थिए। उनी पनि लामिछाने निकट नेताका रूपमा चिनिन्छन्। वाग्लेलाई निर्विरोध निर्वाचित गराउन सभापति लामिछानेले विराजभक्त श्रेष्ठलाई उम्मेदवारी फिर्ता लिन लगाएका थिए।
यता, प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह निकट मानिएका असिम शाह मात्र पदाधिकारीमा विजयी भएका छन्। बालेन निकट मानिएकी अर्की नेतृ डा. तोसिमा कार्की भने सोबिता गौतमसँग पराजित भइन्।
उनले प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाह र उनका सल्लाहकार कुमार वेनसँग पनि छलफल गरेका थिए। तर अन्तिमसम्म सहमति जुट्न नसकेपछि पदाधिकारीका लागि निर्वाचन गराइएको थियो।
महामन्त्री पदमा विपिन आचार्यले निकटतम प्रतिद्वन्द्वी मनीष झालाई ३२७ मतान्तरले पराजित गरे। आचार्यले ६७३ मत प्राप्त गर्दा झाले ३४६ मत पाए। अर्का उम्मेदवार गणेश कार्कीले १६९ मत प्राप्त गरे। कार्की पनि सुरुदेखि नै रास्वपामा सक्रिय रहे पनि उनी शाह निकट नेताका रूपमा चिनिन्छन्। महामन्त्री पदमा बालेन पक्षबाट सागर ढकाल पनि प्रतिस्पर्धामा थिए।
आचार्य रास्वपा स्थापनाअघि नै रवि लामिछानेसँग निकट थिए। पार्टी स्थापना हुँदा नै संस्थापक सदस्य बनेका उनी यसअघि सहमहामन्त्रीको जिम्मेवारीमा थिए। संगठन निर्माणमा आचार्य सभापति लामिछानेका मुख्य भरोसायोग्य नेतामध्ये एक मानिन्छन्।
आज सम्पन्न निर्वाचनबाट उपसभापतिमा सोबिता गौतम तथा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन्।
पदाधिकारी चयनमा सहमति जुटाउन सभापति लामिछानेले दुवै पक्षसँग पटक–पटक प्रयास गरेका थिए। उनले प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाह र उनका सल्लाहकार कुमार वेनसँग पनि छलफल गरेका थिए। तर अन्तिमसम्म सहमति जुट्न नसकेपछि पदाधिकारीका लागि निर्वाचन गराइएको थियो। निर्वाचनको परिणामले पदाधिकारीमा रवि लामिछाने पक्षको स्पष्ट वर्चस्व कायम भएको देखिएको छ।
अब रास्वपामा एक उपसभापति, एक महामन्त्रीसहित केही पदाधिकारी मनोनयन गर्न बाँकी छ। ती पदमा सुनिल लम्साल र भूपदेव शाहलाई जिम्मेवारी दिने चर्चा रहे पनि अन्य पात्रहरू पनि समेटिन सक्ने आंकलन गरिएको छ।
स्रोतका अनुसार केन्द्रीय समितिमा पनि भागबण्डाभन्दा क्षमता, योगदान र युवालाई प्राथमिकतामा राखेर मनोनयन गर्ने तयारी भइरहेको छ।




प्रतिक्रिया