काठमाण्डु – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलि सोमबारदेखि आयोजना हुने वातावरण तथा दिगो विकास सम्बन्धी उच्चस्तरीय सम्मेलनमा सहभागी हुन आईतबार प्रस्थान गरेका छन् ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार ५ दिने सम्मेलनका क्रममा भोलि सोमबार आयोजना हुने ‘पेरिस सम्झौता र दिगो विकासका लागि २०३० कार्यसूची बिचको समन्वय सुदृढीकरणसम्बन्धी सातौँ विश्व सम्मेलनको उच्चस्तरीय सत्र’मा उनी सहभागी हुनेछिन् ।
सम्मेलनमा जलवायु परिवर्तनका असर घटाउने, पेरिस सम्झौता कार्यान्वयन तथा दिगो विकास लक्ष्यसँगको सहकार्यलाई मजबुत बनाउने विषयमा छलफल हुनेछ । उनी ‘वातावरण तथा विकास समितिको नवौँ मन्त्रीस्तरीय अधिवेशन’मा सहभागी हुनेछिन् ।
मन्त्री चौधरीले जलवायु परिवर्तनका असर, हिमाली मुलुकका चुनौती, वातावरण संरक्षणका लागि गरिएका प्रयास, दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा नेपालले गरेका प्रगतिबारे विश्व समुदायलाई जानकारी दिनेछिन् ।




प्रतिक्रिया