काठमाण्डु – नेपाली राजनीतिमा कम्युनिष्ट पार्टीहरू बिचको गठजोड, टुटफुट र फेरि एकताको प्रयास कुनै नौलो विषय होइन । तर हालै सम्पन्न निर्वाचन र विकसित नयाँ राजनीतिक धु्रवीकरणबिच आईतबार राजधानीमा आयोजित जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरले कम्युनिष्ट नेताहरूलाई एउटै मञ्चमा उभिने र आफ्नो मनको तीतो–मीठो पोख्ने मौका जुराइदियो ।
‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’ तथा विचार गोष्ठीमा देखिएको दृश्यले वामपन्थी राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरेको छ । एकातिर नयाँ बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) शीर्ष नेताहरू पूर्व प्रधानमन्त्री त्रय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल वामपन्थी सहकार्य र एकताका लागि निकै उत्साहित रूपमा प्रस्तुत भए भने अर्कोतिर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरूको उत्साहमा तत्कालै ‘ब्रेक’ लगाइदिएका छन् ।
विगतको राजनीतिक दुर्घटना र उतारचढावबाट चेतेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ मञ्चमा निकै भावुक र उत्साहित मुद्रामा प्रस्तुत भए । देशमा राष्ट्रिय स्वाधीनता संकटमा परेको, संविधानमाथि प्रहार भइरहेको र त्यसको मुख्य तारो कम्युनिष्ट शक्तिहरू नै बनेको विश्लेषण गर्दै उनले वामपन्थी एकताको विकल्प नरहेको दाबी गरे ।
२०७४ सालको निर्वाचनअघि राष्ट्रिय सभागृहबाटै तत्कालीन एमाले र माओवादी केन्द्रबिच भएको चुनावी तालमेल र जेठ ३ गते मदन भण्डारीकै स्मृति दिवसमा भएको पार्टी एकताको स्मरण गर्दै प्रचण्डले इतिहास दोहोर्याउन चाहेको संकेत गरे । विगतका कमी–कमजोरीको आत्मसमीक्षा गर्न आफू तयार रहेको घोषणा गर्दै उनले भने, ‘मैले भोलि नै पार्टी एकता गरौँ भनेको छैन तर सदन, सडक र सबैतिर कार्यगत सहकार्य चाहिँ आजै, भरे नै वा भोलि नै सुरु गरौँ ।’
प्रचण्डको भनाइले उनी भित्रभित्रै कम्युनिष्ट शक्तिहरूलाई एउटै केन्द्रमा ल्याउन कति हतारिएका छन् र ढिलाइ गर्दा अर्को दुर्घटना हुने भयले कति ग्रस्त छन् भन्ने कुरा छर्लङ्ग पार्छ ।
नेपाली कम्युनिष्ट पार्टीका अन्य २ शीर्ष नेता झलनाथ खनाल र माधवकुमार नेपालले पनि प्रचण्डको सुरमा सुर मिलाए । नेता खनालले निर्वाचनअघि एमाले र आफूहरूबिच तालमेल भएको भए वामपन्थीहरूको मात्रै १०० सिट आउने दाबी गरे । कम्युनिष्टहरू फुटेकै कारण देश तानाशाहहरूको हातमा पुगेको टिप्पणी गर्दै खनालले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ लक्षित आक्रोश पोखे । उनले देशमा सुकुमबासीका नाममा डोजर आतंक सिर्जना गरिएको र बजेट केवल माथिल्लो वर्गको हितमा आएको आरोप लगाए ।
गत भदौमा भएका विध्वंसात्मक घटनाहरू विदेशी प्रतिक्रियावादीहरूको षड्यन्त्र भएको जिकिर गर्दै उनले कम्युनिष्टहरू मिल्नुको विकल्प नरहेको बताए ।
नेकपा सहसंयोजक माधवकुमार नेपालले जननेता मदन भण्डारीको भनाइ कुरा गरेर मात्रै चिउरा भिज्नेवाला छैन भन्ने उदाहरण दिँदै नेताहरूमा पलाएको विकृति र जनताको बदलिँदो मनोविज्ञान बुझ्न नसक्नुको आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए । कम्युनिष्ट घटकहरूबिच वैचारिक मन्थन भए मात्र एकता सम्भव हुने उनको तर्क थियो ।
जब मञ्चमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पालो आयो, उनले निकै शालीन तर निर्मम ढंगले प्रचण्ड, खनाल र नेपालको एकताको कार्डलाई खारेज गरिदिए । एमाले कुनै एकताका नाममा आफ्ना नीति र कार्यदिशामाथि पुनर्विचार वा छलफल गर्ने पक्षमा नरहेको प्रस्ट पार्दै ओलीले प्रचण्डको उत्साहमा पूर्णविराम लगाइदिए ।
ओलीले भने, ‘हाम्रा नीतिहरू सही छन्, राजनीतिक, सामाजिक र आर्थिक रूपमा एमालेले सही नीति निर्धारण गरेको छ । त्यसैले एमाले कुनै एकताका लागि नीतिबारे छलफल गर्ने पक्षमा छैन ।’ ओलीको भनाइले एमाले अहिले नै अर्को एकताको चक्रव्यूहमा फस्न तयार छैन र यदि कसैलाई एकता नै चाहिएको हो भने एमालेकै नीति र नेतृत्व स्वीकारेर आउनुपर्छ भन्ने स्पष्ट सन्देश दिएको छ ।
देशमा समाजवाद निर्माण गर्नेभन्दा पनि प्रतिगमनको खतरा बढिरहेको औँल्याउँदै ओलीले प्रतिगमनलाई पराजित गर्न कम्युनिष्ट मात्र नभएर सबै लोकतान्त्रिक र वामपन्थी शक्तिहरूबिच कार्यगत एकता मात्र हुन सक्ने उनले बताए ।
मदन भण्डारीको जन्मजयन्तीको मञ्चमा कम्युनिष्ट नेताहरूले हात र मन मिलाउने कुरा त गरे तर भित्री स्वार्थ र अविश्वासको खाडल अझै पुरिएको छैन । विगतको बहुमतको सरकार ढल्नु र पार्टी फुट्नुका पछाडि को जिम्मेवार थियो भन्ने कुरामा नेताहरूबिच अझै पनि मतभेद छ ।
प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल नयाँ राजनीतिक दल गठन गरे पनि चुनावी परिणाम र भविष्यको अस्तित्व रक्षाका लागि एमालेसँग सहकार्य गर्न आतुर देखिएका छन् । तर एमालेका अध्यक्ष ओली भने तत्कालै सस्तो भावनात्मक एकताको पक्षमा देखिँदैनन् । प्रचण्डले बढाएको एकताको हातलाई ओलीले केवल कार्यगत सम्झौताको सीमित घेराभित्र राखिदिँदा कम्युनिष्ट एकताको आगामी बाटो फेरि पनि अन्योलपूर्ण देखिएको छ ।




प्रतिक्रिया