आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम

आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- देशभरका साना तथा सहायक नदीहरूमा बहाव बढेर आकस्मिक बाढी आउन सक्ने सम्भावना देखिएको छ।

बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार सोमबार देशका ३४ भन्दा बढी जिल्ला भएर बहने स-साना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने सम्भावना छ।

महाशाखाका अनुसार झापा, इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, गोरखा, लमजुङ र चितवनका साना नदीहरूमा बहाव बढ्नेछ। यसैगरी कास्की, पाल्पा, स्याङ्जा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, रुकुम पश्चिम, बैतडी, दार्चुला, दिपायल, डडेल्धुरा, अछाम र यस आसपासका जिल्ला भई बहने खोला तथा नदीहरूमा पनि बाढीको जोखिम रहेको छ।

यस्तै, बाढीको यो जोखिम मंगलबार र बुधबार पनि कायम रहने देखिएको छ। भोलि र पर्सि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश भई बहने धेरैजसो स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने महाशाखाले जनाएको छ। सोही अवधिमा कर्णाली र सुदूरपश्चिम प्रदेश भएर बहने केही स-साना नदीहरूमा पनि बहाव आकस्मिक रूपमा बढ्न सक्ने अनुमान गरिएको छ।

साना नदीहरूमा बाढीको जोखिम रहे पनि देशका प्रमुख र ठुला नदीहरूको अवस्था भने हाल सामान्य रहेको छ। महाशाखाले आज बिहान गरेको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै छ। यसका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि अहिले सुरक्षित अवस्थामै रहेको जानकारी महाशाखाले दिएको छ।