काठमाण्डु- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका लामो दूरीका ड्रोन आक्रमणका कारण रूसको इन्धन पूर्वाधारमा समस्या उत्पन्न भएको स्वीकार गरेका छन्। ती आक्रमणपछि केही क्षेत्रमा पेट्रोलको आपूर्तिमा सीमित कोटा लागू गरिएको उनले बताएका छन्।
आइतबार प्रसारित सरकारी टेलिभिजन अन्तर्वार्तामा पुटिनले भने, ‘हाम्रा पूर्वाधारमाथि भएका यी आक्रमणले समस्या सिर्जना गरिरहेका छन्, यो स्पष्ट छ ।’
उनले इन्धन आपूर्तिमा केही समस्या देखिए पनि अवस्था गम्भीर नरहेको दाबी गर्दै आपूर्ति सहज बनाउन सरकारले काम गरिरहेको बताए ।
पछिल्ला महिनाहरूमा युक्रेनले रूसका तेल प्रशोधन केन्द्रहरूलाई लक्षित गर्दै लामो दूरीका ड्रोन आक्रमणलाई तीव्र बनाएको छ । पुटिनले यस्ता आक्रमणले इन्धन उत्पादन र आपूर्तिमा असर पारेको स्वीकार गरेको यो पहिलो पटक हो ।
युद्ध जारी रहेका बेला युक्रेनले रूसको ऊर्जा पूर्वाधारमाथिका आक्रमणलाई बढाएको छ। हालैका आक्रमणहरूमा मस्कोदेखि उराल पर्वतसम्म रहेका तेल प्रशोधन केन्द्रहरू निशानामा परेका छन्। ती आक्रमणमा युक्रेनले स्वदेशमै विकसित ड्रोन प्रयोग गरेको जनाएको छ।
केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले अमेरिकी खुफिया निकायले युक्रेनलाई लक्ष्य पहिचान गर्न र रूसी हवाई रक्षा प्रणालीबाट बच्न आवश्यक सूचना उपलब्ध गराएको दाबी गरेता पनि पुष्टि भने भएको छैन।
युक्रेनले सन् २०१४ देखि रूसको नियन्त्रणमा रहेको क्राइमियामा पनि पछिल्लो समय ड्रोन आक्रमणलाई निरन्तरता दिएको छ। ती आक्रमणका कारण त्यहाँको इन्धन पूर्वाधार र दैनिक गतिविधिमा असर परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।




प्रतिक्रिया