काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता वितरण गरिएको भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पत्राचार गरेको छ ।
आयोगले मंगलबार प्रेस नोट जारी गर्दै रास्वपाले बालबालिकालाई पार्टी सदस्यता वितरण गरेको भन्ने जानकारी आयोगमा प्राप्त हुनुका साथै विभिन्न सञ्चारमाध्यममा पनि समाचार प्रकाशित भएपछि यसबारे जानकारी माग्दै असार १५ गते पार्टीको केन्द्रीय कार्यालयलाई पत्राचार गरिएको जनाएको हो ।
आयोगका अनुसार पत्रमा १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यका रूपमा संगठित गरिएको भन्ने समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । पार्टी महाधिवेशनमा प्रस्तुत गरिएको भनिएको प्रतिवेदनमा उल्लेख भएअनुसार बालबालिकालाई सदस्यता वितरण गरिएको हो वा होइन भन्ने विषयमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन आग्रह गरिएको छ ।
आयोगले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई राजनीतिक दलको सदस्यता वितरण गरिएको पुष्टि भए त्यस्तो कार्य प्रचलित नेपाली कानुन तथा नेपालले गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत हुने जनाएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१(१) बमोजिम आवश्यक जानकारी उपलब्ध गराउन रास्वपालाई अनुरोध गरिएको आयोगका सहायक प्रवक्ता तथा उपसचिव श्यामबाबु काफ्लेद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।




प्रतिक्रिया