काठमाण्डु– सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ ।
पौडेललाई गैरकानुनी थुनामा राखिएको दाबी गर्दै पत्नी दोमाया पौडेलले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
त्यसबारे सुनुवाइका लागि न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएको छ ।
गत १६ असारमा न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले पौडेललाई पक्राउ गर्नुको कारणबारे थप कागजात झिकाउन आदेश दिएको थियो ।
पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको पत्राचारमा प्रहरीले ३ असारमा सुर्खेतबाट पक्राउ गरी त्यसको भोलिपल्ट काठमाण्डु ल्याएको थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको मागअनुसार अदातले सात दिनको म्याद सकिएपछि सोमबार थप तीन दिन म्याद थपेको थियो ।
सम्पत्ति शुद्धीकरण र धितोपत्र कारोबार कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग कनेक्सन देखिएको भन्दै विभागले पौडेललाई पक्राउ गरेको हो ।
पौडेलमाथि केपी ओली सरकारको अर्थमन्त्री भएका बेला श्रीराम टोबाको प्रालिको २० प्रतिशत सेयर भट्ट सञ्चालक रहेको हिमालयन एसेट म्यानेजमेन्ट प्रालिका नाममा दिन दबाब दिएको आरोप लागेको छ ।
श्रीराम टोबाको कमपनीका सञ्चालक कमलकिशोर मालपानी र चुन्नप्रसाद शर्माले बयानका क्रममा पौडेलको नाम पोलेका थिए ।
पौडेलको दबाबका आफूहरुले श्रीराम टोबाकोको सेयर व्यवसायी भट्टको कम्पनीलाई दिएको उनीहरुले बताएका छन् ।




प्रतिक्रिया