आयोजना प्रमुख भन्छन्– मनसुनपछि मात्रै मेलम्चीको पानी काठमाण्डुमा आउँछ

आयोजना प्रमुख भन्छन्– मनसुनपछि मात्रै मेलम्चीको पानी काठमाण्डुमा आउँछ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मेलम्ची खानेपानी आयोजनाको पानी मनसुन सकिएपछि मात्रै नियमित रूपमा काठमाडौं उपत्यकामा आपूर्ति हुने भएको छ।

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक लक्ष्मीप्रसाद उपाध्यायले डाइभर्सनमा पनि पूर्ण रूपले क्षति पुगेको हुँदा सञ्चालन गर्न सम्भव नभएको बताए।

उनका अनुसार मनसुनपछि मुहानको अवस्था सामान्य बनेपछि मात्रै नियमित रूपमा पानी आपूर्ति गर्न सकिनेछ।

‘अहिले हामीले पनि के गर्न सकिन्छ भनेर बाढी पसेको ठाउँमा हेरिरहेका छौं,’ उनले भने, ‘डाइभर्सन पनि पूर्ण रूपले क्षति पुगेको हुँदा तत्काल पानी पठाउन सम्भव छैन। यो मनसुनपछि मात्रै हुन्छ होला।’

यसअघि अविरल वर्षासँगै मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पस्दा पानी अत्यधिक धमिलो बनेपछि आपूर्ति रोकिएको थियो।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रवक्ता वीरबहादुर चन्दका अनुसार धमिलो पानीका कारण सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रशोधन प्रक्रिया प्रभावित भएपछि मेलम्चीबाट आउने पानीको प्रवाह शुक्रबारदेखि अस्थायी रूपमा बन्द गरिएको छ।

वर्षाका कारण मुहानमा पानी अत्यधिक धमिलो भएको छ। पानीको गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित वितरण तालिकाअनुसार पानी आपूर्ति सुरु गरिने प्रवक्ता चन्दले बताएका थिए। 

मेलम्चीको पानी बन्द भएसँगै काठमाडौं उपत्यकामा खानेपानी वितरणमा असर पर्ने भएको छ।