इरानका पूर्वसर्वोच्च नेता खामेनीको अन्त्येष्टि सुरु, विश्वका नेता तेहरानमा

इरानका पूर्वसर्वोच्च नेता खामेनीको अन्त्येष्टि सुरु, विश्वका नेता तेहरानमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि प्रक्रिया शुक्रबारदेखि तेहरानमा सुरु भएको छ।

अन्त्येष्टि तथा शोकसभामा सहभागी हुन विश्वका १०० भन्दा बढी देशका राष्ट्रप्रमुख तथा उच्च कूटनीतिक प्रतिनिधिहरू इरान पुगेका छन्।

अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा परी गत फेब्रुअरी २८ मा खामेनी मारिएका थिए ।

खामेनीको निधन भएको चार महिनापछि इरानले उनको सम्मानमा एक सातासम्म चल्ने भव्य अन्त्येष्टि कार्यक्रम आयोजना गरेको हो ।

विश्वका दुई शक्तिशाली सैन्य शक्तिसँग महँगो युद्ध लडेको र दशकौंदेखि गम्भीर आर्थिक संकट झेलेको इरानले पनि खामेनीलाई धार्मिक प्रतीकवादले भरिएको भव्य विदाइ दिन कुनै कसर बाँकी राखेको छैन । संयोगवश यो कार्यक्रम अमेरिकाको २५०औं स्वतन्त्रता दिवसको आसपास परेको छ ।

खामेनीको कफिनमा श्रद्धाञ्जली दिन पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ, सेनाप्रमुख आसिम मुनिर, साउदी अरेबियाका उपपरराष्ट्रमन्त्री वालिद अल–खुरैजी र अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकी तेहरान पुगेका छन्।

सोही आक्रमणमा ज्यान गुमाएका खामेनीकी छोरी, बुहारी, ज्वाइँ र ३ वर्षीया नातिनीको शव पनि सँगै राखिएको छ। इरान र इराकका विभिन्न धार्मिक सहरहरू हुँदै आगामी ९ जुलाईमा खामेनीको जन्मस्थान मशहदमा अन्तिम संस्कार गरिनेछ।

इरानी अधिकारीहरूका अनुसार यो इस्लामिक गणतन्त्रको इतिहासकै सबैभन्दा ठूलो व्यवस्थापन अभियानमध्ये एक हो ।

सरकारी कर्मचारी, विश्वविद्यालय, श्रमिक संगठन, दमकलकर्मी, सैनिक, उद्धारकर्मी तथा धार्मिक शोक समूहहरूलाई परिचालन गरिएको छ । इरान र छिमेकी इराकका विभिन्न सहर तथा पवित्र धार्मिकस्थलहरूमा लाखौँ श्रद्धाञ्जली दिन आउनेहरूको व्यवस्थापन गरिनेछ । शिया मुस्लिम बहुसंख्यक रहेको इराकले पनि लाखौँ मानिस सहभागी हुने जनाएको छ ।

इरानले यसअघि यति ठूलोस्तरको अन्त्येष्टि केवल इस्लामिक गणतन्त्रका संस्थापक आयातोल्लाह रुहोल्लाह खोमेनी (१९८९) र कुद्स फोर्सका कमाण्डर कासिम सुलेमानी (२०२०) का लागि मात्रै आयोजना गरेको थियो । दुवै कार्यक्रममा भीड नियन्त्रण गर्न नसक्दा धेरै मानिसको ज्यान गएको थियो ।

यस पटक खामेनीको शव सुरक्षित राख्न, लाखौँ श्रद्धाञ्जली दिन आउनेहरूको व्यवस्थापन गर्न तथा विदेशी पाहुनाको स्वागत गर्न अभूतपूर्व सुरक्षा योजना लागू गरिएको छ ।

शनिबार बिहान तेहरानस्थित इमाम खोमेनी मोसल्ला मस्जिद परिसरमा पार्थिव शरीर राखिएको छ । गर्मीबाट जोगाउन ६ हजारभन्दा बढी पानी छर्किने उपकरण जडान गरिएको छ ।

अन्त्येष्टिका क्रममा तेहरानका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थल बन्द गरिएको छ । लाखौँ मानिस आउने भएकाले निजी सवारीसाधनमा प्रतिबन्ध लगाइएको छ भने ७ सयभन्दा बढी पार्किङ स्थल खुला गरिएको छ ।

श्रद्धाञ्जली दिन आउनेहरूका लागि ५ करोड रोटी पकाइनेछ भने १६ वटा मोबाइल बेकरी सञ्चालन गरिने छन् ।

उद्धार तथा स्वास्थ्य सेवाका लागि २,५०० एम्बुलेन्स, २१ हेलिकप्टर, १०० ड्रोन, हजारौँ उद्धारकर्मी, ५ लाख लिटर सलाइन, २० हजार कक्षाकोठा तथा दुई दर्जनभन्दा बढी अस्पताल तयारी अवस्थामा राखिएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सरकारले तेहरान, मशहद र कुम आउने श्रद्धाञ्जलीकर्तालाई आफ्नै घरमा बस्न दिने अभियानसमेत सञ्चालन गरेको छ ।

मस्जिद, खेलकुद हल, पार्क र सांस्कृतिक केन्द्रहरूलाई पनि अस्थायी आवासका रूपमा तयार पारिएको छ ।

अन्त्येष्टिको तेस्रो दिन शवयात्रा तेहरानको पूर्वी भागबाट पश्चिमसम्म लैजाने कार्यक्रम छ । त्यसपछि धार्मिक नगर कुम हुँदै पार्थिव शरीर इराकका पवित्र सहर नजाफ र कर्बला पुर्‍​​​​याइनेछ । अन्ततः खामेनीको जन्मस्थल मशहदस्थित इमाम रेजाको पवित्र समाधिस्थलमा उनको अन्तिम संस्कार गरिनेछ।

इराकसम्म पार्थिव शरीर लैजानुलाई इरानले आफूलाई सीमाहीन इस्लामिक क्रान्तिको नेतृत्व गर्ने शक्तिका रूपमा प्रस्तुत गर्ने प्रयासका रूपमा पनि हेरिएको छ ।

यसबीच तनावपूर्ण क्षेत्रीय परिस्थितिका बीच इरानी अधिकारीहरूले कडा राजनीतिक र सैन्य सन्देशहरू जारी गरेका छन्।

इरानी संसद्का सभामुख तथा मुख्य वार्ताकार मोहम्मद बगेर गालिबाफले युद्ध अन्त्य गर्ने प्रतिबद्धताहरू पालना नभए कडा कदम चाल्ने चेतावनी दिएका छन्।

विश्लेषकहरूका अनुसार यो आक्रमणले इरानभित्रको आन्तरिक राजनीतिक समीकरण बदलिदिएको छ। सरकार विरोधी प्रदर्शनकारीहरूलाई पनि राष्ट्रिय झण्डामुनि ल्याएको छ। सेन्टर फर मिडल इस्ट स्ट्रेटेजिक स्टडिजका वरिष्ठ अनुसन्धानकर्ता अबास असलानीले अल जजिरासँग कुरा गर्दै भनेका छन्, ‘अमेरिका र इजरायलले जे गरे, त्यो उनीहरूका लागि प्रत्युत्पादक भयो। उनीहरू देशमा सत्ता परिवर्तन चाहन्थे, तर जे भयो त्यसले उल्टै राष्ट्रिय एकताको लहर पैदा गरिदियो।’