काठमाण्डु– काँग्रेस सांसद् सीता थपलियाले पर्साको ठोरीमा भारतीय पर्यटकका सवारी साधन सीमा क्षेत्रमा रोकिएको विषयमा प्रश्न उठाएकी छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै थपलियाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सीमासम्बन्धी अभिव्यक्तिपछि सीमावर्ती क्षेत्रमा समस्या देखिन थालेको बताइन् ।
‘सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्तिपछि नेपाल–भारत सिमावर्ती क्षेत्रमा विभिन्न किसिमका समस्याहरू देखिन थालेका छन्’, उनले भनिन्, ‘यस्तै समस्या पर्सा जिल्लाको सीमा नाका ठोरीमा देखिएको छ । ठोरीमा भारतीय पर्यटकका सवारीसाधन रोकिएका छन् ।’
प्राचीन तथा ऐतिहासिक महत्त्व बोकेको सिमा नाका ठोरीमा गत शुक्रबार देखि सशस्त्र प्रहरीले ‘माथिको आदेश भन्दै भारतीय पर्यटकहरूका सवारीसाधनलाई नेपाल प्रवेशमा रोक लगाइरहेको उनले बताइन् । उनले तत्काल भारतीय पर्यटकका गाडी खुला गर्न माग गरिन् ।
‘सरकारले आफ्नो नाकालाई व्यवस्थित गर्ने कि, पर्यटकका सवारीसाधन फर्काइदिने ?’, थपलियाले भनिन्, ‘पर्यटन व्यवसायलाई धराशायी बनाउने कि ढुक्क भएर पर्यटक आउने वातावरण बनाउने ?’
भएको संरचनामा कर्मचारी नराख्ने तर, भन्सार नकाटेको बहानामा पर्यटक फर्काउने विषय स्वीकार्य हुन नसक्ने बताइन् ।
ठोरी प्रचुर सम्भावना बोकेको पर्यटकीय गन्तव्य भए पनि त्यहाँस्थित छोटी भन्सारको भवन रहेको भए पनि कर्मचारी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।




प्रतिक्रिया