जुलाई ३ मा इरानले तेहरानस्थित इमाम खोमेनी मुसल्ला ग्रान्ड मस्जिदमा हत्या गरिएका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम सुरु गरेको छ ।
८६ वर्षीय खामेनेई इस्लामिक गणतन्त्रमाथि भएको अमेरिका–इजरायल युद्धको पहिलो हवाई आक्रमणमै फब्रुवरी २८मा मारिएका थिए ।
खामेनेईको श्रद्धाञ्जली समारोहले इस्लामिक गणतन्त्रको निरन्तरता र उम्माह (विश्व मुस्लिम समुदाय) बीच धार्मिक एकताको सशक्त सन्देश दिएको छ ।
विश्वका विभिन्न देशका आधिकारिक सरकारी प्रतिनिधिमण्डल तथा प्रतिनिधिहरू उक्त समारोहमा सहभागी भए । त्यसपछि खामेनेईको पार्थिव शरीरलाई जुलाई ९ मा मशहदस्थित इमाम रेजा दरगाहमा अन्त्येष्टि गर्नुअघि कोम, नजफ र कर्बलासम्म छ दिन लामो धार्मिक यात्रामा लगिँदैछ ।
तर, खामेनेईको विशाल श्रद्धाञ्जली केवल अन्त्येष्टि मात्र होे कि त्यसभन्दा धेरै ठूलो राजनीतिक र धार्मिक सन्देश ?
साउदी अरेबियाका उपविदेशमन्त्री वलीद अल–खुराइजीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल तेहरान पुगेर आधिकारिक श्रद्धाञ्जली समारोहमा सहभागी भयो । साउदीको सहभागिता सावधानीपूर्ण भए पनि अत्यन्त प्रतीकात्मक थियो । यसले क्षेत्रीय शक्ति सन्तुलन र पश्चिमी प्रभावबारे तनाव कायम रहँदा पनि साउदी–इरान कूटनीतिक सम्बन्धको नयाँ संकेत दिएको छ ।
इरान र साउदी अरेबियाले सन् २०२३ मा कूटनीतिक सम्बन्ध पुनःस्थापित गरेका थिए । उक्त सहमतिले दुवै देशको सार्वभौमसत्ता र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । यद्यपि व्यवहारमा यी दुई देशबीच प्रायः मतभेद रहँदै आएका छन् ।
यस्तो अवस्थामा साउदी अरेबियाको उपस्थिति धार्मिक एकताले अझै पनि क्षेत्रीय ऐक्यबद्धताको महत्वपूर्ण आधार बन्न सक्ने संकेतका रूपमा हेरिएको छ ।
अली खामेनेईको शहादतले समकालीन क्षेत्रीय प्रतिस्पर्धा हुँदाहुँदै पनि उम्माहलाई एकताबद्ध गर्न सकेको सन्देश साउदीको ‘अप्रत्याशित’ उपस्थितिले दिएको देखिन्छ ।
यसले इरान–साउदी टकरावको तीव्रता घट्दै गएको मात्र होइन, इरानको राजनीतिक निरन्तरताप्रति सार्वजनिक रूपमा सम्मान व्यक्त गरेको पनि देखायो, यद्यपि यसले इरानको वैचारिक धारालाई समर्थन गरेको अर्थ भने लाग्दैन ।
युवराज मोहम्मद बिन सलमानको सट्टा उपविदेशमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल पठाइनुले कूटनीतिक सम्पर्क कायम राख्ने, पश्चिमी साझेदारीलाई निरन्तरता दिने र इरान, खाडी क्षेत्र तथा अमेरिकाबीच सन्तुलन कायम गर्न सक्ने स्वतन्त्र क्षेत्रीय भूमिकालाई कायम राख्ने सन्तुलित प्रयासका रूपमा हेरिएको छ ।
बद्रको युद्धमार्फत कूटनीतिक सन्देश
श्रद्धाञ्जली समारोहमा इरानले मुस्लिम समुदायको ध्यान रक्षात्मक अवस्थाबाट स्थायित्व र विस्तारतर्फ मोड्ने प्रयास गरेको देखियो । यसको सन्दर्भ बद्रको युद्धसँग जोडिएको थियो ।
साउदी प्रतिनिधिमण्डलको उपस्थितिमा गरिएको कुरआनको सूरा आले–इमरान (३ः१३) को तिलावतलाई बद्रको युद्धको स्मरण गराउने सन्देशका रूपमा व्याख्या गरिएको छ । यसले सैन्य शक्ति, रणनीतिक गठबन्धन वा संख्यात्मक बलभन्दा पनि ईश्वरको मार्गमा लड्ने आस्थाले विजय निर्धारण गर्छ भन्ने सन्देश दिन खोजेको देखिन्छ ।
यो आयतको छनोटले एकातिर मुस्लिम राष्ट्रहरूलाई विशेषगरी अमेरिका र इजरायलजस्ता बाह्य शक्तिबाट आफ्नो स्वतन्त्र पहिचान कायम राख्न प्रेरित गर्ने कूटनीतिक सन्देश दिएको देखिन्छ भने अर्कोतर्फ सुरक्षा आस्था र ईश्वरीय शक्तिमै निहित रहेको मेलमिलापपूर्ण धारणा पनि प्रस्तुत गरेको छ ।
प्रतीकात्मक रूपमा यसले इरानको अस्तित्व आस्था, प्रतिरोध र ईश्वरीय सहयोगका कारण सुरक्षित रहेको सन्देश दिनुका साथै सम्प्रदायगत प्रतिस्पर्धाभन्दा माथि उठेर इस्लामी जिम्मेवारी र कूटनीतिक सम्बन्ध जोगाइराख्नुपर्ने आवश्यकता पनि संकेत गरेको छ ।
इस्लामी पहिचानको प्रतीकात्मक एकता
इस्लामी संसारभित्र सम्प्रदायगत र वैचारिक मतभेद भए पनि खामेनेईको अन्त्येष्टिका लागि मुहर्रम महिनाको छनोटमार्फत इरानले साझा इस्लामी पहिचानलाई बलियो रूपमा प्रस्तुत गरेको छ ।
इस्लामी पात्रोको पहिलो महिना मुहर्रम सन् ६८० को कर्बलाको युद्धसँग ऐतिहासिक रूपमा जोडिएको छ । यसले शोक, शहादत, प्रतिरोध र सामूहिक इस्लामी स्मृतिको प्रतीकका रूपमा धार्मिक पहिचान, राजनीतिक सोच र सामाजिक आन्दोलनलाई गहिरो प्रभाव पार्दै आएको छ ।
अन्त्येष्टि यात्रा इराकको कर्बलाबाट गुज्रिनुले पनि यस क्षेत्रको ऐतिहासिक र धार्मिक सम्बन्धलाई झल्काउँछ । इरानले खामेनेईलाई प्रतिरोधका शहीदका रूपमा प्रस्तुत गर्दै धार्मिक, राजनीतिक र क्षेत्रीय दृष्टिले अत्यन्त महत्वपूर्ण व्यक्तित्वका रूपमा चित्रण गरेको छ, जुन ‘स्मार्ट पावर’ को प्रदर्शन पनि हो ।
शिया मुस्लिमका लागि मुहर्रम अत्याचारविरुद्ध उभिने सामूहिक चेतनाको भाषा हो भने सुन्नी मुस्लिमका लागि यो उपवास र स्मरणसँग जोडिएको छ । तर दुवैका लागि कर्बलाको सन्देश केवल इतिहास नभई राजनीतिक चेतनाको साझा प्रतीक बनेको छ ।
यस भाषामा कुनै पनि मुस्लिमले अन्याय र दमनविरुद्धको बलिदानका रूपमा मृत्युलाई प्रतीकात्मक रूपमा बुझ्छ र सार्वजनिक शोकमार्फत प्रतिक्रिया जनाउँछ । यसरी यो न्याय, निष्ठा, पीडा, शहादत र नैतिक संघर्षको सामूहिक भाषामा रूपान्तरण हुन्छ ।
साउदी अरेबियाको उपस्थिति इस्लामी समाजमा धार्मिक मूल्यहरूको प्रभाव अझै बलियो रहेको र त्यसले इरानको शासन व्यवस्थाको वैचारिक आधारलाई बल पुर्याएको संकेत पनि हो ।
इरानका गतिविधि केवल खामेनेईपछिको राजनीतिक निरन्तरताको वैधता स्थापित गर्ने प्रयास मात्र होइनन् । यसले इस्लामिक गणतन्त्रप्रतिको निष्ठालाई कर्बलाको धार्मिक–राजनीतिक इतिहासमा आधारित शहादतको स्मृतिसँग जोड्ने प्रयास गरेको छ ।
सरल रूपमा भन्नुपर्दा, कर्बलाको प्रतीकले शोकलाई राजनीतिक वैधतामा रूपान्तरण गर्न सहयोग गर्छ, जुन युद्धको अवस्थामा बाह्य समर्थन र आन्तरिक स्थायित्व दुवैका लागि महत्वपूर्ण हुन्छ ।
के इरानलाई अलग पार्न सकियो ?
अमेरिकाले इरानलाई अन्तर्राष्ट्रिय रूपमा अलग पार्ने प्रयास गरिरहे पनि तेहरानले आफ्नो ऐतिहासिक र धार्मिक सम्बन्धलाई अझै प्रभावकारी रूपमा उपयोग गर्न सक्ने क्षमता देखाएको छ ।
अमेरिकाको प्रमुख साझेदार साउदी अरेबियाले उच्चस्तरीय प्रतिनिधि पठाएर आयातोल्लाह खामेनेईप्रति श्रद्धाञ्जली अर्पण गर्नुले इस्लामी मूल्य र एकताको मूल्य चुकाएर अमेरिका–इजरायलको अलग्याउने नीतिलाई पूर्ण रूपमा अनुसरण गर्न साउदी इच्छुक नरहेको संकेत दिएको छ ।
यद्यपि दुई देशबीच कूटनीतिक सम्बन्धमा अझै तनाव छ, साझा धार्मिक पहिचान र मूल्यहरूले खामेनेईको राजनीतिक तथा धार्मिक निरन्तरतालाई वैधता दिएको देखिन्छ ।
यिनै सम्बन्धका आधारमा इरानले आफ्नो भूराजनीतिक महत्वसँगै चीन, भारत, रूस, पाकिस्तान तथा अन्य मुस्लिम बहुल राष्ट्रहरूसँगको गैर–पश्चिमी सम्बन्धमार्फत नैतिक नेतृत्व प्रस्तुत गर्न खोजेको छ ।
जब अमेरिका पश्चिमी मूल्यका आधारमा लोकतन्त्रको अवधारणालाई अघि सारिरहेको छ, त्यही बेला इरानले आफ्नो अन्त्येष्टि यात्रा र इराकको कर्बलासम्मको धार्मिक यात्रामार्फत राष्ट्रवादी भावना र वर्तमान शासनको वैचारिक गहिराइ प्रदर्शन गरेको देखिन्छ ।
पश्चिम एसियाको युद्धमा अन्ततः कसको विजय भयो भन्ने निष्कर्ष निकाल्न अझै हतार हुनेछ । तर इरानले क्षेत्रीय एकता र आफूलाई प्रभावशाली क्षेत्रीय नेताका रूपमा प्रस्तुत गर्ने आफ्नो क्षमताको सशक्त सन्देश भने अवश्य दिएको छ ।
लेखक पश्चिम एसिया र उत्तर अफ्रिकासम्बन्धी स्वतन्त्र अनुसन्धानकर्ता हुन् ।




प्रतिक्रिया