तीन वर्षभित्र कर्णाली करिडोरमा पहिरो रोकिन्छः मन्त्री लम्साल

तीन वर्षभित्र कर्णाली करिडोरमा पहिरो रोकिन्छः मन्त्री लम्साल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पूर्वाधार विकास तथा यातायातमन्त्री सुनिल लम्सालले आगामी तीन वर्षभित्र कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडक दुई लेनमा विस्तार गरिने बताएका छन् ।

मंगलबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले उक्त सडक सरकारको प्राथमिकतामा रहेको बताए ।

बनाउनुपर्ने पुल बनाउने र निर्माण जारी रहेका सबै पुलको निर्माण कार्य सक्ने उनले जनाए । अनुगमनका लागि आफू ३ साउनमा स्थलगत निरीक्षणमा जाने जानकारी दिए । बजेट व्यवस्थापन गरी सरकारले कर्णालीका सबै सडकको ठेक्का प्रक्रिया अघि बढाउने उल्लेख गरे ।

हाल निर्माणाधीन सडक खण्डमा करिब ९ वटा पुलहरू ‘डिजाइन एण्ड बिल्ड’ विधिबाट अगाडि बढाउने प्रक्रियामा रहेको जानकारी दिँदै उनले स्थलगत अध्ययनपछि आवश्यकताअनुसार थप पुलहरू निर्माण गरिने बताए ।


पहिरोहरूको दीर्घकालीन समाधानका लागि करिब २७ अर्ब बजेट व्यवस्थापन गरिएको जानकारी दिए । तीन वर्षभित्र पहिरोको समस्या अन्त्य गर्ने गरी काम भइरहेको उनले बताए ।


मुगु लगायत कर्णालीका सडक सञ्जाल नपुगेका वा कच्ची सडक रहेका पालिका केन्द्रसम्म सुरक्षित सडक पुर्‍याउन उच्च प्राथमिकतासहित पर्याप्त बजेट विनियोजन गरिएको बताए ।


मन्त्री लम्सालले उत्तरी सीमा चीनको हिल्सा सम्म सडक सञ्जाल विस्तार कार्यलाई प्राथमिकतामा राखिएको प्रतिबद्धता जनाए ।